बाढीले ऊर्जा क्षेत्रमा पुर्याएकाे ठूलो क्षति टार्न भारतकाे साथ, दैनिक १८ घण्टासम्म ६५४ मेगावाट दिने
बाढीले देशको ऊर्जा संरचना तहसनहस पारेपछि भारतबाट दैनिक १८ घण्टासम्म ६५४ मेगावाट बिजुली ल्याउने बाटो खुलेकाे छ । नेपाललाई उज्यालाे राख्न भारतले अनवरत विद्युत दिने बताएकाे छ ।
काठमाडाैँ । नेपालको जलविद्युत् संरचनामा हालै आएको बाढीले गम्भीर क्षति पुर्याएपछि भारतले नेपाललाई उच्च परिमाणमा ऊर्जा उपलब्ध गराउने भएको छ।
ऊर्जा संकट गहिरिँदै गएको वर्तमान परिस्थितिमा भारतले आगामी डिसेम्बर अन्त्यसम्मका लागि दैनिक १८ घण्टासम्म ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति दिएको हो।
बाढीका कारण स्वदेशी उत्पादन घटेर आन्तरिक माग धान्न मुस्किल परेको बेला छिमेकी मुलुकबाट प्राप्त यो सहमतिले नेपालको ऊर्जा आपूर्ति प्रणालीमा ठूलाे राहत पुग्ने देखिएको छ।
संकट टार्न भारतको विशेष अनुमति
नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार हालैका दिनहरूमा आएको विनाशकारी बाढीका कारण नेपालमा देखिएको चर्को ऊर्जा अभावलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।
यसअघि नेपालले सुक्खा मौसमको आवश्यकतालाई ध्यानमा राखेर माग गरेको परिमाण र अवधिअनुसार नै भारतीय ऊर्जा मन्त्रालयले विद्युत् आयातको बाटो खोलेको हो। गत सेप्टेम्बर १३ तारिखदेखि नै यो स्वीकृति लागू भइसकेको छ।
नयाँ व्यवस्थाअनुसार नेपालले मुजफ्फरपुर–ढल्केबर चार सय किलोभोल्ट डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम छ सय मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ किलोभोल्ट सिंगल सर्किट प्रसारण लाइनबाट थप ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली प्राप्त गर्नेछ।
यो बिजुली प्रत्येक दिन मध्यरातदेखि साँझ छ बजेसम्म उपलब्ध हुनेछ। आगामी डिसेम्बरमा अवस्थाको समीक्षा गरेर सन् २०२७ जनवरीदेखि उपलब्ध गराइने परिमाणबारे पुनरावलोकन गरिनेछ।
बाढीले थिलथिलाे पारेका ऊर्जा संरचना
केही समयअघि मात्रै भोटेकोसी तथा त्रिशूली नदी कोरिडोरमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोट क्षेत्रका सञ्चालनमा रहेका जलविद्युत् केन्द्र, निर्माणाधीन आयोजना तथा मुख्य प्रसारण पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
वर्षायाममा आन्तरिक खपतभन्दा बढी भएको बिजुली भारतलगायतका बजारमा निर्यात गर्दै आएको नेपाल, अहिले भने स्वदेशी उत्पादन खुम्चिएपछि बाध्यात्मक रूपमा आयातमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ।
बाढीका कारण झन्डै डेढ दर्जन जलविद्युत् केन्द्र तथा आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। यस प्राकृतिक विपत्तिले पूर्वाधारमा मात्र असर पारेको छैन, हजारौँ मानिस अझै बेपत्ता छन् जसमा ऊर्जा क्षेत्रमा कार्यरत सयौँ कामदारहरू पनि समेटिएका छन्।
मुख्य उत्पादन केन्द्रहरूबाट अस्थायी रूपमा विद्युत् उत्पादन ठप्प भएपछि आगामी महिनाहरूमा आन्तरिक माग व्यवस्थापन गर्न नेपालका लागि भारतीय बिजुली नै मुख्य विकल्प बनेको छ।












