३० भदौ २०८३, मंगलबार

बुधबारदेखि सुरु हुँदै डिजिटल पार्लियामेन्टको परीक्षण



काठमाडौँ। प्रतिनिधिसभा र संसद् सचिवालयका दैनिक कामलाई प्रविधिमैत्री बनाउने योजनाअनुसार ‘डिजिटल पार्लियामेन्ट’ प्रणालीको परीक्षण बुधबारदेखि सुरु हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सचिवालयले डिजिटल पार्लियामेन्ट कार्यान्वयनका क्रममा हालसम्म भएका प्रगति र आगामी तयारीबारे समितिका सदस्यलाई जानकारी गराएको थियो।

संसदीय कामकारबाहीलाई चरणबद्ध रूपमा डिजिटल माध्यममा लैजाने योजनाअन्तर्गत प्रारम्भिक परीक्षण गर्न लागिएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। यस प्रणालीमार्फत प्रतिनिधिसभा तथा सचिवालयका विभिन्न कार्यलाई क्रमशः डिजिटल प्रविधिसँग जोड्ने तयारी गरिएको छ।

बैठकमा समितिका सदस्यहरूले डिजिटल प्रणालीलाई प्रभावकारी र सहज ढंगले कार्यान्वयन गर्न आवश्यक सुझाव तथा धारणा प्रस्तुत गरेका थिए। सदस्यहरूबाट प्राप्त सुझावलाई समेटेर डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।