३१ भदौ २०८३, बुधबार

खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद, तस्कर फरार



बाँकेको खजुरामा सशस्त्र प्रहरीको कठोर निगरानीपछि भारतबाट अवैध रूपमा ल्याइएको ४३ हजार थान प्रतिबन्धित ट्रामाडोल क्याप्सुल र ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल बरामद भएको छ ।

काठमाडाैँ । नेपाल–भारत सीमा क्षेत्रमा अवैध गतिविधिविरुद्ध सुरक्षा सतर्कता बढाइएका बेला बाँकेमा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद भएको छ । सशस्त्र प्रहरीले भारततर्फबाट अवैध रूपमा भित्र्याइएको ४३ हजार क्याप्सुल ट्रामाडोल र सो ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

बाँकेको खजुरा क्षेत्रमा सञ्चालन गरिएको विशेष जाँचका क्रममा सो परिमाणको औषधि फेला परेको हो । सुरक्षाकर्मीको उपस्थिति देखेपछि तस्करहरू भने मोटरसाइकल र लागुऔषध छाडेर तर्फबाट फरार भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी, बाँकेका अनुसार बरामद गरिएको सम्पूर्ण क्याप्सुल र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार रोक्न सशस्त्र प्रहरीले चेकजाँचमा व्यापक कडाइ गरेको छ ।

विशेष गरी सीमानाका र संवेदनशील क्षेत्रहरूमा तालिमप्राप्त कुकुर अर्थात क्यानाइन डगसहितको विशेष दस्ता परिचालन गरिएपछि अवैध कारोबारमा संलग्नहरूलाई नियन्त्रणमा लिन सहज भएको छ । सामान्य नजरबाट छलेर लुकाएर ल्याइएका वस्तुसमेत तालिमप्राप्त कुकुरको सहायताले सजिलै फेला पार्न थालिएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले नाकामा बढाइएको निगरानी र कडा चेकजाँचका कारण लागुऔषध तथा अन्य अवैध पदार्थ ओसारपसार गर्नेहरू कानुनी दायरामा आउने क्रम बढेको बताए । उनका अनुसार तालिमप्राप्त कुकुरको प्रयोगले सीमा क्षेत्रको सुरक्षा जाँचलाई थप विश्वसनीय र नतिजामूलक बनाएको छ ।

तस्करहरूले अपनाउने नयाँ नयाँ तरिकालाई असफल पार्न सुरक्षा निकायले यो अभियानलाई आगामी दिनमा अझै प्रभावकारी रूपमा अगाडि बढउने तयारी गरेको छ । सीमा क्षेत्रमा देखिएको यो कडाइले अवैध कारोबार गर्नेहरूको मनोबल कमजोर बनाउँदै लगेको स्थानीय स्तरमा चर्चा हुन थालेको छ ।