३१ भदौ २०८३, बुधबार

लागुऔषधको तस्करी बढ्दो, खजुराबाट ४३ हजार ट्रामाडोल क्याप्सुल र बीरगञ्जबाट ९ किलो चरेश बरामद



बाँकेको खजुरामा सशस्त्र प्रहरीको कठोर निगरानीपछि भारतबाट अवैध रूपमा ल्याइएको ४३ हजार थान प्रतिबन्धित ट्रामाडोल क्याप्सुल र ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल बरामद भएको छ ।

काठमाडाैँ । नेपाल–भारत सीमा क्षेत्रमा अवैध गतिविधिविरुद्ध सुरक्षा सतर्कता बढाइएका बेला बाँकेमा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद भएको छ । सशस्त्र प्रहरीले भारततर्फबाट अवैध रूपमा भित्र्याइएको ४३ हजार क्याप्सुल ट्रामाडोल र सो ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

बाँकेको खजुरा क्षेत्रमा सञ्चालन गरिएको विशेष जाँचका क्रममा सो परिमाणको औषधि फेला परेको हो । सुरक्षाकर्मीको उपस्थिति देखेपछि तस्करहरू भने मोटरसाइकल र लागुऔषध छाडेर तर्फबाट फरार भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी, बाँकेका अनुसार बरामद गरिएको सम्पूर्ण क्याप्सुल र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार रोक्न सशस्त्र प्रहरीले चेकजाँचमा व्यापक कडाइ गरेको छ ।

विशेष गरी सीमानाका र संवेदनशील क्षेत्रहरूमा तालिमप्राप्त कुकुर अर्थात क्यानाइन डगसहितको विशेष दस्ता परिचालन गरिएपछि अवैध कारोबारमा संलग्नहरूलाई नियन्त्रणमा लिन सहज भएको छ । सामान्य नजरबाट छलेर लुकाएर ल्याइएका वस्तुसमेत तालिमप्राप्त कुकुरको सहायताले सजिलै फेला पार्न थालिएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले नाकामा बढाइएको निगरानी र कडा चेकजाँचका कारण लागुऔषध तथा अन्य अवैध पदार्थ ओसारपसार गर्नेहरू कानुनी दायरामा आउने क्रम बढेको बताए । उनका अनुसार तालिमप्राप्त कुकुरको प्रयोगले सीमा क्षेत्रको सुरक्षा जाँचलाई थप विश्वसनीय र नतिजामूलक बनाएको छ ।

तस्करहरूले अपनाउने नयाँ नयाँ तरिकालाई असफल पार्न सुरक्षा निकायले यो अभियानलाई आगामी दिनमा अझै प्रभावकारी रूपमा अगाडि बढउने तयारी गरेको छ । सीमा क्षेत्रमा देखिएको यो कडाइले अवैध कारोबार गर्नेहरूको मनोबल कमजोर बनाउँदै लगेको स्थानीय स्तरमा चर्चा हुन थालेको छ ।

बीरगञ्जबाट ९ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिकाबाट ठूलो परिमाणमा लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सीमा क्षेत्रमा सुरक्षा जाँचलाई उच्च सतर्कताका साथ बढाइएको समयमा पर्साको अलौबाट पक्राउ परेका ती युवकको साथबाट करिब साढे नौ किलोग्राम चरेश बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको विशेष गस्ती टोलीले मंगलबार शंकास्पद रूपमा रोकिराखेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको हो।

सुरक्षाकर्मीले खानतलासी गर्दा मोटरसाइकलको सामान्य प्रयोगभन्दा फरक रूपमा तेल ट्यांकीभित्रै फल्स बटम अर्थात् कृत्रिम गुप्तखाना बनाएर लागुऔषध लुकाइएको भेटिएको थियो।

गुप्तखानाभित्र प्लाष्टिकले बेरी सुरक्षित रूपमा राखेका कुल २१ वटा पोकामा उक्त चरेश फेला परेको थियो। प्रारम्भिक सोधपुछका क्रममा आफ्नो घर भारत भएको बताएका अन्दाजी २० वर्षीय सन्दीप चौधरीले सो चरेश नेपालबाट भारततर्फ लैजाने योजना बनाएको खुलेको छ।

पक्राउ परेका चौधरीलाई बरामद गरिएको साढे ९ किलो चरेश र उनले प्रयोग गरेको मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बद्ध निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी र खानतलासी अभियानलाई थप कडा बनाउँदै लगेको छ।