कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सकियो, बिहीबारदेखि पृथ्वी राजमार्गमा सवारी गुडाउन पाइने
अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्र्याक तयार भएसँगै बिहीबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा आउने भएका छन्।
काठमाडाैँ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक खुलाउन गरिएको कडा मेहनत अन्ततः सफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार बुधबार बिहानसम्म सो क्षेत्रमा नयाँ ट्र्याक निर्माणको काम पूर्ण रूपमा सकिएको छ।
सडकको ट्र्याक खुलेसँगै अब भोलिदेखि यस महत्त्वपूर्ण राजमार्गमा यातायातका साधनहरू नियमित रूपमा आउजाउ गर्नेछन्।
गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभीरमा ठूलो हिस्सा कटान गरेपछि यो राजमार्ग पूर्ण रूपमा ठप्प बनेको थियो। त्यसअघि भोटेकोशीमा आएको विनाशकारी बाढीको प्रभावले समेत यातायात क्षेत्रमा अवरोध सिर्जना गरेको थियो।
सडक बन्द भएपछि काठमाडौंसँग जोडिने यस प्रमुख मार्ग भएर यात्रा गर्ने हजारौं यात्रीहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य थिए।
निर्माण सम्पन्न हुनुअघि गत भदौ २८ गते प्राविधिक टोलीले केही ठूला तथा हेभी सवारीसाधनहरू पार गराएर नयाँ ट्र्याकको सफल परीक्षण गरिसकेको थियो। परीक्षण सफल भए पनि निर्माणको काम पूर्ण रूपमा सकिन बाँकी रहेकाले सुरक्षालाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सवारीसाधन चलाउन अनुमति दिइएको थिएन।
बुधबार बिहान सबै निर्माण कार्यहरू पूरा भएसँगै अब भने यातायात सञ्चालनका लागि बाटो खुल्ला भएको छ। भोलिदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने भएपछि राजधानी काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन तथा यात्रुहरूले भोगिरहेको लामो समयदेखिको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ।












