अमेरिकी राजदूतसँग प्रधानमन्त्री शाहको भेटवार्ता : विपद्का बेला सहयोगका लागि धन्यवाद व्यक्त
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटलाई शिष्टाचार भेटका रूपमा लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले पछिल्लो विपद्का बेला नेपालप्रति अमेरिकी सरकारबाट देखाइएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरे। उनले विपद्बाट नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिक पनि प्रभावित भएको जानकारी राजदूत बोल्डिनलाई गराए।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण यस्ता विपद्का घटना थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै जलवायुजन्य जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। उनले विपद्को प्रभाव कम गर्न विश्व समुदायले सामूहिक रूपमा थप प्रभावकारी प्रयास गर्नुपर्नेमा जोड दिए।
अमेरिकी लगानी भित्र्याउने विषयमा छलफल
वार्तामा नेपालको पर्यटन क्षेत्रको सम्भावना र त्यसको विकासमार्फत नेपाल तथा अमेरिकाबीच पारस्परिक लाभका अवसर सिर्जना गर्न सकिने विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपालमा हुने अमेरिकी लगानीलाई सरकारले स्वागत गर्ने धारणा व्यक्त गरे।
भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार र समुदायप्रति समवेदना जनाइन्।
उनले विपद्को कठिन अवस्थामा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताइन्। साथै, उद्धार तथा राहतपछि पुनःस्थापना र पुनर्निर्माणका काममा आवश्यक सहयोग तथा सहकार्य गर्न अमेरिका तयार रहेको जानकारी दिइन्।












