प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकका लागि तयार गरिएको सम्भावित कार्यसूचीमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने विषय समावेश गरिएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैबीच, संघीय संसद् सचिवालयका अनुसार आज तीनवटा संसदीय समितिका बैठक समेत बस्ने भएका छन्। अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिले आ–आफ्ना विषयमा छलफल गर्नेछन्।













