भृकुटीमण्डपमा घरजग्गा प्रदर्शनी सुरु, जलवायु र सुरक्षित आवास निर्माणमा विज्ञहरूको बहस केन्द्रित
भृकुटीमण्डपमा सुरु भयो नवौं घरजग्गा प्रदर्शनी, सुरक्षित र वातावरणमैत्री आवास निर्माणमा विशेष बहस केन्द्रित हुने ।
काठमाडाैँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा आयोजित प्रदर्शनीको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले अहिले बिहान गर्ने कार्यक्रम छ।
आगामी आइतबारसम्म चल्ने यो चार दिने प्रदर्शनीले घरजग्गा खरिद–बिक्रीलाई मात्र नभई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री आवास निर्माणसम्बन्धी सचेतनालाई प्रमुख प्राथमिकता दिएको छ । नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले चेम्बर अफ कमर्सको सहकार्यमा संयुक्त रूपमा यो वृहद् मेलाको आयोजना गरेका हुन् ।
प्रदर्शनी व्यवस्थापनको जिम्मेवारी सिया इभेन्ट एसोसिएट्स प्रालिले सम्हालेको छ भने सिजी प्रोपर्टिज यसको शीर्ष प्रायोजक रहेको छ । एसियन पेन्ट्स पावर्ड बाई तथा प्रभु इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा जोडिएका छन् । मेलामा नेपालका साथै भारतका समेत विभिन्न कम्पनी तथा व्यवसायीहरूको सहभागिता रहेको छ ।
प्रदर्शनीका लागि एक सयभन्दा बढी स्टलहरू बुक भइसकेका छन् जसमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, अत्याधुनिक निर्माण सामग्री, सिमेन्ट, स्टिल, पेन्ट्स, सेनिटरी फिटिंग्स, विद्युतीय उपकरण र इन्टेरियर डिजाइनका सामग्री राखिएका छन् ।
यसबाहेक बैंक, वित्तीय संस्था, बीमा कम्पनी, अस्पताल, इन्जिनियरिङ कन्सल्टेन्सी र प्रिफ्याब प्रविधिका संस्थाहरूले समेत आफ्ना सेवाहरू प्रदर्शन गरिरहेका छन् । कागजरहित बनाउने अभियानअन्तर्गत मेलामा डिजिटल स्ट्यान्डी, कियोस्क, भर्चुअल र अग्मेन्टेड रियालिटी प्रविधिको प्रयोग गरिएको छ ।
यसपटकको प्रदर्शनीको सबैभन्दा ठूलो आकर्षण समसामयिक आवास तथा पूर्वाधारका विषयमा हुने प्यानल छलफल बनेको छ । जलवायु परिवर्तनका कारण बढ्दो विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित बस्ती पुनरुत्थान र विपद् प्रतिरोधी पूर्वाधार निर्माणका विषयमा गम्भीर मन्थन हुनेछ ।
नीति निर्माता, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट र निजी क्षेत्रका विज्ञहरूले सार्वजनिक–निजी साझेदारीलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा आफ्ना धारणा राख्नेछन् । भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञहरूले मेला अवलोकन गर्न आउने सर्वसाधारणलाई निःशुल्क परामर्श दिने प्रबन्ध मिलाइएको छ ।
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारा बोकेको यो प्रदर्शनीले केवल व्यावसायिक लाभ मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै स्थान दिएको छ । मेलाको अवधिभर ओम अस्पताल र ग्रान्डे इन्टरनेसनल अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन हुनेछन् ।
आयोजकका अनुसार हालै आएको बाढीका कारण प्रभावित बनेका रसुवाका बाढीपीडितहरूका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजको समेत व्यवस्था गरिएको छ । चार दिनसम्म चल्ने यो प्रदर्शनीमा करिब ६५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।












