सेयर बजारमा दोहोरो अंकको सुधार: २६२४ बिन्दुमा नेप्से परिसूचक, साढे ५ अर्बकाे काराेबार
काठमाडाैं । बिहिबार पुनः सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएको छ। आज सेयर बजार मापक नेप्से ११.९३ अंकले बढेर २६ सय २४ दशमलव ३६ बिन्दुमा रोकिएको छ।
गत मंगलबार ४८.५७ अंकले बढेको नेप्से परिसूचक हिजो भने २१.१९ अंकले घटेको थियो । आज पुनः बढेको हो ।
नेप्सेसँगै यसदिन कारोबारमा पनि झिनाे सुधार आएकाे छ। आज ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने आज ३५० कम्पनीका १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर खरिदबिक्री भएका छन्।
हिजो ३३९ कम्पनीका १ करोड ५१ लाख १ हजार ५५५ कित्ता सेयर ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँमा कारोबार भएको थियो ।
आज लगानी र अन्य समुहका उपसूचक बाहेक सबै उपसूचकहरु बढेका छन्। यसदिनकाे काराेबारमा जीवन बीमा सर्वाधीक १.०८ प्रतिशत बढेकाे छ।
आज १७७ कम्पनीकाे सेयर मूल्य बढ्दा धाैलागिरी लघुवित्तकाे सेयर मूल्य सर्वाधिक १२.४३ प्रतिशतले बढेकाे छ। यस्तै आज ८५ कम्पनीकाे सेयर मूल्य घट्टा १६ वटाकाे स्थिर रहेकाे छ।














