२ आश्विन २०८३, शुक्रबार

गभर्नर पौडेलको हस्ताक्षरसहित ५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २ गतेदेखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटको आकार र मूल रङ भने यसअघिकै नोटसरह कायम गरिएको छ।

नयाँ नोटमा ट२४ ०००००१ देखि ण७० ९९९९९९ सम्मका सङ्केत नम्बर प्रयोग गरिने जनाइएको छ। नोटको अग्रभागमा नेपाल राष्ट्र बैंकको प्रतिज्ञामूलक वाक्यांशसहित ५० रुपैयाँको मूल्य अंकित गरिएको छ।

नोटको बायाँ भागमा सगरमाथाको चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानीछाप समावेश गरिएको छ। पानीछापको तल्लो हिस्सामा ५० को अंक पनि देखिन्छ। नोटको तल्लो भागमा वि.स. २०८२ सिरिज उल्लेख गरिएको छ भने गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर राखिएको छ।

सुरक्षाका लागि नोटमा १.२ मिलिमिटर चौडाइको कागजमा बुनिएको सुरक्षण धागो प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ। प्रकाशतर्फ फर्काएर हेर्दा उक्त धागोमा ‘एनआरबी’ अक्षर देखिने व्यवस्था गरिएको छ।

नोटको पछाडिको भागमा हिउँ चितुवाको तस्वीर राखिएको छ। त्यसमाथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ भने तल ‘रुपिज फिफ्टी’ र ‘२०२५ एडी’ सिरिज उल्लेख गरिएको छ।

यसअघि राष्ट्र बैंकले २०७७ असार २२ गते ५० रुपैयाँको २०१९ सिरिजको नोट चलनचल्तीमा ल्याउनेसम्बन्धी सूचना जारी गरेको थियो। त्यतिबेला सङ्केत नम्बर ०००००१ देखि ९९९९९९ सम्मको व्यवस्था गरिए पनि ०००००१ देखि ९००००० सम्मका नोट मात्र प्रचलनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकनोट राष्ट्रिय सम्पत्ति भएकाले राष्ट्र बैंकले यसको सुरक्षित प्रयोग र संरक्षण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।