२ आश्विन २०८३, शुक्रबार

साउनमा भित्रियो २ खर्ब रुपैँया बढी विप्रेषण, विदेशी मुद्रा सञ्चिति १८ महिनाको आयात धान्न पुग्ने



काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालमा २ खर्ब रुपैँया भन्दाबढीको विप्रेषण भित्रिएको छ। साउनमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको हो। गत वर्षको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा भने रेमिट्यान्स वृद्धिदर १०.२ प्रतिशत छ। एक महिनामा १ अर्ब ४० करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको हो।पहिलोपटक वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति लिनेको संख्या भने ४४ हजार ४६६ बाट घटेर ४२ हजार ६९३ मा झरेको छ।

त्यस्तै, पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या २७ हजार ७४८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुन: श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको थियो। यसअनुसार समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ भने पुन: श्रम स्वीकृति लिनेको संख्या बढेको छ।

विदेशी मुद्रा सञ्चिति ४० खर्ब नजिक

यसैबीच नेपालको कुल विदेशी मुद्रा सञ्चिति साउन मसान्तसम्म ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेकोमा एक महिनामा विदेशी मुद्रा सञ्चिति १.२ प्रतिशतले वृद्धि भएको हो।

डलरमा हिसाब गर्दा पनि विदेशी मुद्रा सञ्चिति बढेको देखिन्छ। असारमा २५ अर्ब ३१ करोड अमेरिकी डलर रहेको सञ्चिति साउन मसान्तमा बढेर २५ अर्ब ८४ करोड डलर पुगेको छ। हालको आयातको प्रवृत्तिलाई आधार मान्दा उक्त सञ्चितिले २१.८ महिनासम्म वस्तु आयात तथा १८.८ महिनासम्म वस्तु तथा सेवा आयातको खर्च धान्न सक्ने अवस्था रहेको छ।

यस अवधिमा चालु खाता बचतसमेत सुधारिएको छ। गत वर्ष ७८ अर्ब २९ करोड रुपैयाँ रहेको चालु खाता बचत बढेर ९४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, शोधनान्तर बचत ८९ अर्ब ३० करोड रुपैयाँबाट सामान्य वृद्धि हुँदै ९० अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ।

प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गतको इक्विटी आप्रवाह पनि बढेको छ। ६९ करोड १५ लाख रुपैयाँबाट बढेर यस्तो आप्रवाह १ अर्ब १ करोड रुपैयाँ पुगेको हो। यद्यपि, अर्थतन्त्रको समग्र आकारसँग तुलना गर्दा प्रत्यक्ष वैदेशिक लगानीको यो रकम अझै न्यून रहेको देखिन्छ।