आजदेखि काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने, यस्तो छ कारण
काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा आजदेखि आगामी १० दिनसम्म चरणबद्ध रूपमा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसनमा रहेका पुराना रिले हटाएर नयाँ रिले जडान गर्नुका साथै त्यसको परीक्षण गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो।
प्राधिकरणले असोज ४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौँका विभिन्न क्षेत्रका फिडरमा फरक–फरक समयमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ। आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गतको लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा रिले रेट्रोफिट, एसएएस जडान तथा परीक्षण सम्बन्धी काम गर्ने तयारी गरेको छ।
यस कामका कारण १३२ केभी टेकु सबस्टेसनबाट विद्युत प्राप्त गर्ने विभिन्न वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत सेवा केही समयका लागि बन्द तथा प्रभावित हुने प्राधिकरणले जनाएको हो।
काम सम्पन्न गर्ने क्रममा सम्बन्धित क्षेत्रअनुसार फरक फरक समयमा विद्युत आपूर्ति रोकिने भएकाले सेवाग्राहीलाई सोहीअनुसार आवश्यक तयारी गर्न प्राधिकरणले आग्रह गरेको छ।















