परम्परागत शैली त्यागेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्छौँ : प्रधानमन्त्री शाह
“पुरानो ढर्राको विकास मोडल अब चल्दैन, एआई र प्रविधिको बलमा युवाले चाहेको सुशासन र ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरेरै छाड्छौँ।”
काठमाडाैँ । संविधान दिवसका अवसरमा राष्ट्रिय मञ्चबाट सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मुलुकको आर्थिक रूपान्तरणका लागि अब परम्परागत शैली पूर्णतया त्याग्नुपर्ने बताएका छन्।
उनले कृत्रिम बुद्धिमत्ता (एआई), अत्याधुनिक डिजिटल प्रविधि र साइबर सुरक्षालाई राष्ट्रिय विकासको मूल आधार बनाउने दृढता व्यक्त गरेका छन्। सरकारको भावी दिशा प्रष्ट पार्दै उनले अबको राज्य सञ्चालन ज्ञानमा आधारित अर्थतन्त्रको जगमा उभिने स्पष्ट पारे।
दैनिक प्रशासनिक कार्यशैलीमा आमूल परिवर्तन गर्ने चेतावनी दिँदै प्रधानमन्त्री शाहले सरकार अब कुनै पनि हालतमा पुरानै ढर्रामा नचल्ने बताए।
नवप्रवर्तन र स्टार्टअप संस्कृतिको विकास विना मुलुक समृद्ध नहुने उनको ठहर छ। एआई प्रविधिको उच्चतम प्रयोग र सुरक्षित साइबरतन्त्रको निर्माणले मुलुकलाई छिटो फड्को मार्न सघाउने विश्वास व्यक्त गर्दै उनले डिजिटल सुशासन ब्लुप्रिन्टलाई राष्ट्रिय पूर्वाधार निर्माणको बलियो जग बनाइने जानकारी दिए।
सडकबाट युवा पुस्ताले उठाएका सुशासन र पारदर्शिताका मुद्दाहरूप्रति सरकार पूर्ण संवेदनशील रहेको प्रधानमन्त्रीले बताए। युवाले खोजेको सुशासन अब भाषणमा होइन, प्रविधिको पारदर्शी प्रयोगमार्फत व्यवहारमै अनुभूति गराउने उनको भनाइ छ।
प्रशासनिक क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्न सरकारी तथा सार्वजनिक निकायहरूमा दलीय भागबन्डाभन्दा माथि उठाउन योग्यता र क्षमताका आधारमा नियुक्ति दिने परिपाटी थालिसकिएको उनले प्रस्ट्याए। भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गरिरहेको उनको दाबी छ।
मुलुकको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय अपरिहार्य रहेको प्रधानमन्त्री शाहले औँल्याए। सहकारिता, सहअस्तित्व र पारस्परिक समन्वयका माध्यमबाट मात्रै राज्यका साझा लक्ष्यहरू हासिल गर्न सकिने भन्दै उनले सबै सरकारहरूलाई साझा राष्ट्रिय उद्देश्यमा केन्द्रित हुन आह्वान गरे।
सुशासनलाई केवल राजनीतिक नारामा सीमित नराखी ठोस परिणाम दिने कामका रूपमा स्थापित गर्न वर्तमान सरकार कटिबद्ध रहेको उनले बताए।














