रसुवा बाढीको ‘साइड इफेक्ट’ मुस्ताङमा देखियो, भदौमा मुस्ताङ घुम्ने पर्यटक आधाले घटे
काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विपद्पछि त्यसको प्रभाव हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्रमा गम्भीर रुपमा देखिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौ महिनामा मुस्ताङ पुग्ने आन्तरिक तथा सार्क मुलुकका पर्यटकको संख्यामा भारी गिरावट आएको हो।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमार्गमा साउन महिनामा बाढी, पहिरो र नदी कटानका कारण पटक–पटक आवागमन प्रभावित भए पनि मुस्ताङमा पर्यटक आगमन उल्लेख्य थियो। तर, भदौ १० गते रसुवामा आएको बाढीपछि पर्यटकको संख्या एकाएक घटेको प्रहरीको विवरणले देखाउँछ।
घाँसा प्रहरी चौकीमा संकलन गरिएको विवरणअनुसार साउनमा कुल ६१ हजार २६३ पर्यटक मुस्ताङ प्रवेश गरेका थिए। तीमध्ये ३० हजार ६५५ आन्तरिक, ३१ हजार ५७५ सार्क राष्ट्रका र १९३ जना अन्य देशका पर्यटक थिए।
भदौमा भने पर्यटक आगमन झन्डै आधाले घटेर ३१ हजार ९८९ जनामा सीमित भएको छ। गत भदौ महिनामा १६ हजार ५०३ आन्तरिक, १५ हजार १३८ सार्क राष्ट्रका तथा ३४८ अन्य मुलुकका पर्यटक मुस्ताङ पुगेका छन्। अर्थात् साउनको तुलनामा भदौमा २९ हजार २७४ जना कम पर्यटक आएका छन्, जुन करिब ४७.७८ प्रतिशतको कमी हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा भदौमा आन्तरिक पर्यटकको आगमन १४ हजार १५२ अर्थात् ४६.१६ प्रतिशतले घटेको छ। त्यस्तै, सार्क राष्ट्रका पर्यटकको संख्या १६ हजार ४३७ अर्थात् ५२.०५ प्रतिशतले कम भएको छ।
यद्यपि, अन्य मुलुकबाट आउने पर्यटकको संख्या भने बढेको छ। साउनमा १९३ जना विदेशी पर्यटक मुस्ताङ पुगेकामा भदौमा यो संख्या ३४८ पुगेको हो। यसरी अन्य राष्ट्रका पर्यटकको संख्या एक महिनामा १५५ जनाले बढेको प्रहरीको तथ्यांकमा उल्लेख छ।
चालु आर्थिक वर्षको साउन र भदौमा गरी मुस्ताङमा कुल ९३ हजार २५२ पर्यटक पुगेका छन्। यसमध्ये ४७ हजार १५८ आन्तरिक, ४६ हजार ७१३ सार्क राष्ट्रका र ४४१ जना अन्य देशका पर्यटक रहेका छन्।
प्रहरी निरीक्षक बस्यालले रसुवामा भदौ १० गते भएको बाढीका कारण देशभर शोकको अवस्था सिर्जना भएकाले त्यसको असर पर्यटकको आवागमनमा परेको हुनसक्ने बताएका छन्।
यसैबीच, गत आर्थिक वर्ष २०८२/८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। अघिल्लो आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा चालु वर्षको समग्र पर्यटक आगमन बढेको देखिए पनि चालु वर्षकै साउन र भदौबीच भने पर्यटक संख्या उल्लेख्य रूपमा घटेको तथ्यांकले देखाएको छ।














