बंगालको खाडीमा बन्दैछ शक्तिशाली चक्रवात, असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको जोखिम
बंगालको खाडीमा सक्रिय नयाँ मौसमी प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म देशका धेरैजसो भूभागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्।
काठमाडाैँ । नेपालमा फेरि एकपटक सम्भावित विपद्को कालो बादल मडारिन थालेको छ। बंगालको खाडीमा विकसित भइरहेको एउटा बलियो न्यूनचापीय प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भूभागमा ठूलो वर्षा हुन सक्ने मौसमविद्हरूले पूर्वानुमान गरेका छन्।
यस प्रणालीले भयावह रूप लिन सक्ने जोखिम औंल्याउँदै विज्ञहरूले पूर्वतयारी र सतर्कतालाई अझै तीव्र पार्न जोड दिएका छन्।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न अन्तर्राष्ट्रिय पूर्वानुमान मोडेलहरूको गहिरो अध्ययनपछि ८ देखि १२ असोजसम्म देशका धेरै ठाउँमा वर्षाको मात्रा उच्च हुन सक्ने निष्कर्ष निकालेका छन्।
उनका अनुसार केही आधुनिक मोडेलले सो अवधिमा ४०० मिलिमिटरभन्दा बढी र कतिपय क्षेत्रमा त ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाएका छन्। यो वर्षा देशभर एकैनासको नभई केही निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित हुने उनको अनुमान छ।
यो पूर्वानुमान कसैलाई तर्साउनका लागि नभई समयमै आवश्यक सावधानी अपनाउन सहज होस् भन्ने उद्देश्यले सार्वजनिक गरिएको पोखरेलले स्पष्ट पारेका छन्। भारतको उत्तरपश्चिमी क्षेत्रबाट बाहिरिन थालेको मनसुनी हावा र बंगालको खाडीबाट अगाडि बढ्ने न्यूनचापीय प्रणालीबीचको अन्तरक्रियाले नेपालमा यसको गम्भीर प्रभाव पार्न सक्ने खतरा छ।
अर्का मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि यो मौसमी परिघटनालाई निकै गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। हाल उपलब्ध अधिकांश पूर्वानुमानले असोज ८ देखि ११ गतेसम्मको अवस्था चुनौतीपूर्ण देखाएका छन् भने विशेष गरी असोज १० गते सबैभन्दा बढी जोखिमपूर्ण हुन सक्ने संकेत देखिएको छ।
विगतको अनुभव र यात्रामा सावधानी
तथापि, यो प्रक्षेपणलाई नै अन्तिम सत्य मानिहाल्नु नपर्नेमा उपाध्यायको जोड छ। गत वर्ष कात्तिक महिनामा आएको मोन्था चक्रवातको उदाहरण दिँदै उनले भारतीय तटीय क्षेत्रमा शक्तिशाली देखिएको प्रणाली नेपाल आइपुग्दा कमजोर भएको स्मरण गराएका छन्। यसपटक पनि त्यस्तै कुनै प्राकृतिक अनुकूलता वा चमत्कार भएर क्षति कम हुने आशा उनले व्यक्त गरेका छन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै उनले सर्वसाधारणलाई नआत्तिन तर हदैसम्मको सतर्कता अपनाउन अपिल गरेका छन्।
सम्भावित खतरालाई दृष्टिगत गर्दै सुदूरपश्चिम बाहेकका क्षेत्रमा असोज ८, ९ र १० गते लामो दूरीको यात्रा नगर्नु नै बुद्धिमानी हुने उनको सुझाव छ। यद्यपि, वर्षाको वास्तविक स्वरूप र प्रभाव क्षेत्र कुन हो भन्ने विषय अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन।
कृषिक्षेत्रमा असर
यता, जल तथा मौसम विज्ञान विभागले पनि बंगालको खाडीको उक्त मौसमी गतिविधिप्रति आफ्नो ध्यान केन्द्रित रहेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस्ता प्रणालीहरू कतिपय अवस्थामा बीचमै दिशा बदल्ने वा कमजोर भएर जाने सम्भावना पनि उत्तिकै हुन्छ।
विभागले यसको वास्तविक गतिशीलता र नेपालमा पार्ने प्रभावको विस्तृत अध्ययन गरिरहेको छ। आगामी दिनमा प्रणालीको दिशा र शक्तिमा हुने परिवर्तनका आधारमा औपचारिक जानकारी गराइनेछ।
यदि अनुमान गरिएजस्तै भारी वर्षा भयो भने त्यसले नेपालको कृषिक्षेत्रमा, विशेष गरी पाकिसकेको धानबालीमा ठूलै क्षति पुर्याउन सक्ने चिन्ता पनि विज्ञहरूले व्यक्त गरेका छन्।
चक्रवात बने नाम ‘अर्नब’ रहने
भारतीय मौसम विभागका अनुसार उत्तर थाइल्याण्ड र म्यानमार आसपासको क्षेत्रबाट सुरु भएको यो प्रणाली उत्तर अण्डमान सागरतर्फ सर्ने क्रममा छ। यो प्रणाली बंगालको खाडीको मध्य भागमा पुगेर आगामी केही दिनभित्रै डिप्रेसन वा डिप डिप्रेसनमा परिणत हुने सम्भावना प्रबल छ।
बंगालको खाडीमा विकसित भइरहेको यो मौसमी प्रणालीले भारतका आन्ध्र प्रदेश, ओडिसा र पश्चिम बंगालका तटीय क्षेत्रहरूमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।
यदि यो प्रणालीले पूर्ण रूपमा चक्रवातको रूप लियो भने यो सन् २०२६ को उत्तर हिन्द महासागर क्षेत्रको पहिलो उष्णकटिबन्धीय चक्रवात बन्नेछ। विश्व मौसम संगठनको चक्रवातको नामकरण सूचीअनुसार यसपटक बंगलादेशले प्रस्ताव गरेको ‘अर्नब’ नाम दिइनेछ।














