४ आश्विन २०८३, आइतबार

सेयर कारोबार घट्दा पूँजीगत लाभकर आम्दानीमा भारी गिरावट, करको दर बढ्यो तर बढेन राजस्व



काठमाडौँ। सेयर बजारमा कारोबार रकम र सूचक दुवै कमजोर बनेपछि सरकारले सेयर कारोबारबाट प्राप्त गर्ने पूँजीगत लाभकर आम्दानीमा भारी गिरावट आएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा सेयर कारोबारबाट सरकारले कुल १ अर्ब २५ करोड ७६ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा संकलन भएको रकमभन्दा ५४.४२ प्रतिशत कम हो।

गत आर्थिक वर्ष २०८२/८३ को साउन र भदौमा सेयर कारोबारबाट सरकारको खातामा २ अर्ब ७५ करोड ७९ लाख रुपैयाँ पूँजीगत लाभकर जम्मा भएको थियो। यस हिसाबले एक वर्षको अवधिमा दुई महिनामै सरकारको पूँजीगत लाभकर आम्दानी राजस्व करिब १ अर्ब ५० करोड रुपैयाँले घटेको हो।

सीडीएससीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौमा भने सेयर कारोबारबाट ६३ करोड २७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ। गत वर्षको भदौमा संकलन भएको ६० करोड १४ लाख रुपैयाँको तुलनामा यसपटकको रकम ५.२० प्रतिशत बढी हो।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सिर्जना भएको राजनीतिक अनिश्चितताका कारण सेयर बजार करिब एक सातासम्म बन्द भएको थियो। बजार बन्द हुँदा त्यस महिनाको कारोबार र त्यसबाट उठ्ने सरकारी राजस्वमा समेत असर परेको थियो।

यस वर्ष भने बजार नियमित सञ्चालनमा रहे पनि नेप्से परिसूचक र दैनिक कारोबार रकम कमजोर रहँदा पूँजीगत लाभकरबाट हुने सरकारी आम्दानी अपेक्षाकृत दबाबमा परेको देखिन्छ।

करको दर बढे पनि बढेन राजस्व

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर बढाएको थियो। तर बजारमा कारोबार नै घटेपछि करको दर बढाइएको अवस्थामा पनि समग्र राजस्व गत वर्षको तुलनामा उल्लेख्य रूपमा कम भएको हो।

बजारमा निरन्तर कमजोरी देखिएपछि सरकारले पछि पूँजीगत लाभकरको दरसमेत घटाएको छ। पछिल्लो व्यवस्थाअनुसार सेयर बिक्रीबाट प्राप्त नाफामा होल्डिङ अवधिका आधारमा ३.५ प्रतिशत र ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ।

आर्थिक वर्षको सुरुवातमा केही सुधार देखिएको सेयर बजार पछिल्लो समय पुन: दबाबमा आएको छ। नेप्से परिसूचक करिब २६४७ विन्दु आसपास झर्दा कारोबार रकम पनि कमजोर बनेको छ।

सेयर बजारको यस्तो अवस्थाले लगानीकर्ताको सम्पत्तिमा मात्रै हैन, सेयर कारोबारबाट नियमित रूपमा राजस्व संकलन गर्दै आएको सरकारको आम्दानीमा समेत असर परेको छ।