६ आश्विन २०८३, मंगलबार

बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई नाडाको साथ: क्षतिको विवरण बुझाउन आह्वान, सहजीकरणका लागि विशेष पहल गरिने



काठमाडाैं। हालै भोटेकोसीमा आएको विनाशकारी बाढी तथा डुबानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति हुनुका साथै अटोमोबाइल क्षेत्रमा समेत गम्भीर असर परेको छ।

अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधार, गोदाम तथा सवारीसाधनमा व्यापक क्षति पुगेकोप्रति नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस दुःखद घडीमा संस्था प्रभावित सदस्य तथा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूको साथमा रहेको नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले प्रतिबद्धता व्यक्त गरेका छन्।

बाढी तथा डुबानका कारण भन्सार नाकाहरूमा रोकिएका तथा विभिन्न स्थानमा राखिएका आयातित सवारीसाधनहरू क्षतिग्रस्त भएका छन् भने कतिपय सवारीसाधन बाढीले बगाएर हराएका छन्।

साथै, व्यवसायीका गोदाम, कार्यस्थल, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यस कठिन परिस्थितिमा प्रभावित व्यवसायीहरूलाई तत्काल राहत र सहजीकरण प्रदान गर्न नाडाले सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, र भन्सार कार्यालयहरूसँग उच्चस्तरीय पहलकदमी सुरु गरिसकेको छ।

राहत तथा सहजीकरण प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढाउन नाडाले आफ्ना सम्पूर्ण प्रभावित सदस्य कम्पनीहरूलाई क्षतिको यथार्थ र प्रमाणित विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ। व्यवसायीहरूले बाढीबाट क्षति भएका वा हराएका सवारीसाधनको संख्या र प्रकार, सम्बन्धित भन्सार नाका वा स्थान, भौतिक संरचनाको क्षति, बीमा दाबीसम्बन्धी कागजात, बैंक ऋणको विवरण तथा अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विस्तृत विवरण समावेश गरी पठाउनुपर्नेछ।

प्राप्त विवरणका आधारमा नाडाले सम्पूर्ण क्षतिको एकीकृत अभिलेखीकरण गरी बीमा दाबी प्रक्रियालाई छिटो र सहज बनाउन बीमा कम्पनीहरूसँग सीधा समन्वय गर्नेछ। यसका साथै भन्सार क्षेत्रमा हराएका वा क्षतिग्रस्त भएका सवारीसाधनको पहिचान र कानुनी प्रक्रियाका लागि भन्सार कार्यालयहरूसँग सहजीकरण गरिनेछ। वित्तीय भार कम गर्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको पुनर्संरचना र भुक्तानी अवधि पुनरावलोकनका लागि समेत आवश्यक पहल गरिने योजना बनाइएको छ।

समग्र अटोमोबाइल क्षेत्रले व्यहोरेको क्षतिको वास्तविक चित्र सरकार र सरोकारवाला निकायसमक्ष प्रस्तुत गर्दै नाडाले आवश्यक राहत, सहजीकरण र नीतिगत सम्बोधनका लागि दबाब दिनेछ। यस कार्यलाई थप प्रभावकारी र नतिजामुखी बनाउन नाडाले छिट्टै एक विशेष ‘समन्वय तथा सहजीकरण समिति’ गठन गर्ने तयारी गरेको छ। नाडाले यस संकटको समयमा धैर्य धारण गर्न र सम्पूर्ण प्रभावित व्यवसायीहरूलाई यथाशीघ्र क्षतिको विवरण बुझाएर समन्वय प्रक्रियामा सहयोग पुर्‍याउन हार्दिक अनुरोध गरेको छ।