राष्ट्र बैंकको कारबाहीमा ६ लघुवित्त : ४ वटालाई शीघ्र सुधारात्मक कारबाही, २ लाई जरिवाना
काठमाडौं। नियामकीय मापदण्ड पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियम उल्लङ्घन गरेको पाइएपछि केही संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने केहीलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको हो।
राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तमाथि गत वैशाख ८ गते शीघ्र सुधारात्मक कारबाही गरिएको हो। २०८२ असार मसान्तसम्म संस्थाको न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशतमा सीमित रहेको पाइएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिम कारबाही गरिएको हो।
धौलागिरी लघुवित्त पनि सोही प्रकृतिको कारबाहीमा परेको छ। संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको हो ।
यसैगरी, मातृभूमि लघुवित्तमाथि २०८३ वैशाख २९ गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ। संस्थाको न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र रहेको पाइएपछि राष्ट्र बैंकले नियामकीय कदम चालेको हो।
एनआईसी लघुवित्त पनि कारबाहीमा परेको छ। २०८२ असार मसान्तमा संस्थाको न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत रहेको पाइएपछि २०८३ असार १२ गते शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
अनिवार्य नगद मौज्दातसम्बन्धी व्यवस्था पालना नगरेको भन्दै वीन नेपाल लघुवित्तमाथि भने नगद जरिवाना गरिएको छ। २०८२ चैतमा आवश्यक अनिवार्य नगद मौज्दात कायम नगरेपछि संस्थालाई २०८३ असार २३ गते पहिलो पटक ५८.३८ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।
सञ्जीवनी लघुवित्तमाथि भने एउटै प्रकृतिको उल्लङ्घन पटकपटक देखिएपछि विभिन्न समयमा जरिवाना गरिएको छ। संस्थाले २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असारमा अनिवार्य नगद मौज्दात कायम नगरेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।
सोही आधारमा सञ्जीवनी लघुवित्तलाई क्रमश: ७१३ रुपैयाँ, १ हजार ६७ रुपैयाँ, १ हजार ४१२ रुपैयाँ र १ हजार ४१० रुपैयाँ गरि पटक पटक नगद जरिवाना गरिएको हो।

















