गभर्नर पौडेलको हस्ताक्षरसहित राष्ट्र बैंकद्वारा १ हजार रुपैयाँको नयाँ नोट प्रचलनमा, यस्ता छन् विशेषता
काठमाडौँ। नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट आज असोज ८ गतेदेखि चलनचल्तीमा ल्याएको छ। नयाँ नोटको आकार अघिल्लो नोटकै जस्तो भए पनि यसको रङ तथा सुरक्षा विशेषतामा केही परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोटमा बैजनी घेराभित्र फिक्का हरियो रङको प्रयोग गरिएको छ। यसको सिरिज सन् २०२५ कायम गरिएको छ।
नोटको अगाडिको भागमा नेपाल राष्ट्र बैंकको प्रतिज्ञामूलक वाक्यांश राखिएको छ। त्यसमा नेपाल सरकारको जमानत प्राप्त रकमका रूपमा माग भएको अवस्थामा राष्ट्र बैंकबाट १ हजार रुपैयाँ भुक्तानी गरिने उल्लेख छ।
नोटको बायाँ भागमा सगरमाथाको चित्र छ भने दायाँ भागमा लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापको तल ‘१०००’ अंक देखिन्छ। त्यस्तै, नोटको दायाँतर्फ निलो रङमा सुरक्षा संकेत राखिएको छ, जसलाई प्रकाशतर्फ हेर्दा ‘१०००’ को पूर्ण आकृति देखिन्छ।
दृष्टिविहीन व्यक्तिलाई नोट पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले यसको तल्लो दायाँ भागमा एक हजार रुपैयाँ जनाउने रोमन अक्षर ‘एम’ राखिएको छ। सगरमाथाको बायाँ र पानीछापको दायाँ भागमा १०–१० वटा तेर्सा रेखासमेत समावेश गरिएको छ।
नोटको अग्रभागमा सगरमाथाको दायाँपट्टि अण्डाकार संरचनाभित्र भगवतीको चित्र राखिएको छ। उक्त चित्रलाई सिधा कोणबाट हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने गरी तयार गरिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो पनि राखिएको छ। सिधा हेर्दा रातो र कोण परिवर्तन गर्दा हरियो देखिने उक्त धागोमा ‘एनआरबी’ तथा ‘१०००’ अंक समावेश छन्।
यस नोटमा राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ को सिरिज संकेत राखिएको छ।
नोटको पछाडिपट्टि चितवनस्थित सरकारी हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। राष्ट्र बैंकका अनुसार ती हात्ती देवकली नामकी हात्तीबाट जन्मिएका हुन्।
पछाडिको बायाँ भागमा पनि सुरक्षा संकेतका रूपमा ‘१०००’ को आंशिक आकृति राखिएको छ। प्रकाशतर्फ हेर्दा उक्त आकृति पूर्ण रूपमा देखिन्छ।
त्यसैगरी, पानीछापको दायाँतर्फ नेपालका सात प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातवटा लालीगुराँसका चित्र राखिएका छन्। नोटको दायाँ भागमा ‘रुपिज वान थाउजेण्ड’ लेखिएको छ भने हनुमानढोकाको ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृतिलाई समेत नोटमा समेटिएको छ।
नोटको तल्लो बोर्डरमा सिरिज नम्बर ‘२०२५ ए.डी.’ उल्लेख गरिएको छ।
यसअघि राष्ट्र बैंकले २०७७ साउन ७ गतेदेखि २०१९ सिरिजको १ हजार रुपैयाँको बैंकनोट प्रचलनमा ल्याएको थियो। त्यसबेला ज६८ ०००००१ देखि ट९९९९९९ सम्मका संकेत नम्बर रहने व्यवस्था भए पनि ज६८ ०००००१ देखि ट९१ ४४०००० सम्मका नोट मात्र बजारमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
हाल नयाँ सिरिजको १ हजार रुपैयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ। राष्ट्र बैंकले बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले यसको सुरक्षा र उचित संरक्षणमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।















