८ आश्विन २०८३, बिहिबार

देशभर वर्षा : केही प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, यी जिल्लामा छ जोखिम



काठमाडौं। मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका अधिकांश क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको छ। लगातारको वर्षाले दैनिक जनजीवन प्रभावित बनेको छ भने वर्षाको जोखिमलाई ध्यानमा राख्दै विभिन्न स्थानका विद्यालयसमेत दुई दिनका लागि बन्द गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्रले भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ। यो प्रणालीले उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहँदा नेपालमा पनि यसको प्रभाव परेको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आकाशमा व्यापक बादल लागेको छ। सुदूरपश्चिममा भने आंशिक बदली रहेको छ। कोशी, मधेश र बागमतीका धेरै स्थानमा वर्षा भइरहेको छ भने गण्डकी तथा लुम्बिनीका केही क्षेत्रमा र कर्णाली तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तो छ आजको मौसम पूर्वानुमान

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मौसम मुख्यतः बदली रहने अनुमान छ। कर्णाली र सुदूरपश्चिममा पनि सामान्य बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ।

मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा धेरै स्थानमा तथा सुदूरपश्चिमका केही तराई क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। मधेश तथा कोशीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको जोखिमसमेत रहेको छ।

राति पनि देशभर मौसम बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। तराईका अधिकांश क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा मधेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही तराई क्षेत्रमा हावाहुरीको सम्भावना पनि रहेको छ।

यी जिल्लामा छ जोखिम

मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको सम्भावित मौसम अवस्थालाई आधार बनाएर जोखिम नक्सा सार्वजनिक गरेको छ। महाशाखाले सार्वजनिक गरेको नक्सामा वर्षा र मौसमजन्य जोखिमअनुसार जिल्लाहरूलाई विभिन्न रङमार्फत वर्गीकरण गरिएको छ।

असोज ८ गते बिहीबारका लागि कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी पहाडी जिल्लालाई सुन्तला रङमा राखिएको छ। सुन्तला रङले सम्भावित जोखिमलाई जनाउने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।

त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्लालाई पहेँलो रङमा राखिएको छ। कर्णाली प्रदेशका केही जिल्लासमेत पहेँलो वर्गमा परेका छन्। पहेँलो रङले मौसमको अवस्थाबारे नियमित जानकारी लिइरहनुपर्ने संकेत गर्छ।

असोज ९ गते जोखिम थप बढ्ने संकेत

असोज ९ गते शुक्रबार भने अघिल्लो दिनको तुलनामा मौसमजन्य जोखिम अझ बढ्न सक्ने नक्साले देखाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रलाई रातो रङमा राखिएको छ। रातो रङले सम्भावित विपद्को अवस्थामा प्रतिकार्यका लागि तयारी गर्नुपर्ने संकेत गर्छ।

रातो वर्गमा रहेका जिल्लामा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङ रहेका छन्।

यसै दिन कोशीका झापा, मोरङ र सुनसरी तथा मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सालाई पहेँलो रङमा राखिएको छ। यी क्षेत्रमा मौसमको अवस्थाबारे निरन्तर अपडेट लिन महाशाखाले सुझाएको छ।

बाँकी धेरै जिल्लालाई भने सुन्तला रङमा राखेर सतर्क रहन संकेत गरिएको थियो। यद्यपि, बिहीबार बिहानको अद्यावधिक नक्सामा केही जिल्लाको जोखिम वर्गीकरण परिवर्तन गरिएको छ। यसअघि सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीलाई सुन्तला रङमा राखिएको थियो। बिहान गरिएको संशोधनपछि यी पाँच जिल्लालाई पहेँलो वर्गमा राख्दै मौसमसम्बन्धी सूचना अद्यावधिक राख्न भनिएको हो।

असोज १० गते कर्णाली र सुदूरपश्चिममा बढी जोखिम

शनिबार अर्थात् असोज १० गते कर्णाली र सुदूरपश्चिम क्षेत्रमा मौसमजन्य जोखिम तुलनात्मक रूपमा बढ्न सक्ने अनुमान गरिएको छ। सो दिन डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुलालाई रातो रङमा राखिएको छ।

त्यस्तै, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र बैतडीलाई सुन्तला रङमा राखिएको छ।

यी क्षेत्रमा सम्भावित मौसमजन्य जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा हुने परिवर्तनअनुसार थप सूचना तथा चेतावनी नियमित रूपमा अद्यावधिक गरिने भएकाले महाशाखाबाट जारी हुने मौसम पूर्वानुमान तथा मौसमी सूचना नियमित रूपमा हेर्न पनि सबैलाई आग्रह गरेको छ।