८ आश्विन २०८३, बिहिबार

मुक्तिनाथ विकास बैंक र अटोवेज प्रालीबीच व्यावसायिक सम्झौता, बुल मेसिन खरिदमा सहज कर्जा



काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालमा निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालीबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सम्झौतामा मुक्तिनाथ विकास बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखेर डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ। यस्तै, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुन सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यस्तो कर्जा न्यूनतम ब्याजदरमा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

सम्झौताले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुका साथै निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय सहयोग पुग्ने बैंकको विश्वास छ।

बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार निर्माण क्षेत्रमा आवश्यक उपकरण खरिदका लागि वित्तीय पहुँच सहज बनाउने उद्देश्यले उक्त सहकार्य गरिएको हो।

मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा एसएमईलगायत विभिन्न क्षेत्रमा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।