मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य तथा बैंकिङ सेवा सम्बन्धी सम्झौता
काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा, फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारी अनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ। सम्झौता अनुसार अस्पतालको विभिन्न सेवा तथा सुविधाहरुमा १० देखि २० प्रतिशत सम्मको छुट उपलब्ध हुनेछ।
यसैगरी, मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई न्युनतम ब्याजदरमा प्रोफेशनल लोन, होम लोन, अटो लोन, व्यवसायिक कर्जा तथा अन्य सहुलियतपुर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ।
यस सहकार्यबाट दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ हुनुका साथै बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा र अस्पतालका कर्मचारीहरूलाई सहज, सरल तथा प्राथमिकतायुक्त बैंकिङ सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । उक्त समझदारीले स्वास्थ्य सेवा र वित्तीय सेवाबीच सहकार्य विस्तार गर्दै ग्राहक सन्तुष्टि, संस्थागत सम्बन्ध तथा पारस्परिक लाभ अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।















