३१ आश्विन २०८३, शनिबार

रजोज मान श्रेष्ठको अध्यक्षतामा नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमिति



काठमाडौं । नेपाल वित्तीय संस्था संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा असोज २ गते काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले संघका विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

साधारण सभाबाट सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, नेपाल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया उपाध्यक्षमा र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ महासचिवमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिका सदस्यमा गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल जोशी रहेका छन् ।

संघले निवर्तमान अध्यक्ष सुनिल पन्तले आफ्नो कार्यकालमा संघको नेतृत्व गर्दै संस्थालाई थप सुदृढ, प्रभावकारी र संस्थागत रूपमा अघि बढाउन पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेको छ । आगामी दिनमा तत्कालीन निवर्तमान अध्यक्षका रूपमा पन्त संघसँग निरन्तर आबद्ध रही नयाँ कार्यसमितिलाई आवश्यक मार्गदर्शन प्रदान गर्ने विश्वास संघले व्यक्त गरेको छ ।

नवनिर्वाचित कार्यसमितिले नेपालका वित्तीय संस्थाबीचको समन्वय, सहकार्य र संस्थागत एकतालाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । सदस्य संस्थाका साझा विषय तथा समस्यालाई प्रभावकारी रूपमा सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्दै वित्तीय क्षेत्रको समग्र विकासका लागि नेपाल राष्ट्र बैंक, नेपाल सरकार तथा अन्य सरोकारवाला निकायसँग थप प्रभावकारी र रचनात्मक सहकार्य गर्ने जनाएको हो ।

संघले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यलाई सफल कार्यकालको शुभकामना दिएको छ । साथै, संघका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, सदस्य संस्था तथा सम्पूर्ण सरोकारवालाबाट आगामी दिनमा समेत निरन्तर सहयोग, सुझाव र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।