९ आश्विन २०८३, शुक्रबार

सप्तकोशीमा बढ्यो बाढीको बहाव, ब्यारेजका ३१ ढोका खोलिए



काठमाडौँ। सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा पानीको सतह उच्च जोखिमको तहमा पुगेपछि थप सतर्कता अपनाउन आग्रह गरिएको छ।

अपराह्न २ः१५ बजेसम्म सप्तकोशीमा २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन गरिएको छ। पानीको बहाव निरन्तर बढिरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्र तथा डुबानको जोखिममा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार चतारा क्षेत्रमा सप्तकोशीको जल सतह बढ्दो क्रममा छ। नदीको बहाव थप बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन भनिएको छ।

नेपालतर्फबाट ब्यारेजका धेरै ढोका खोल्दा भारतको विहारतर्फ पनि पानीको बहाव बढ्ने भएकाले दुवैतर्फको जोखिमलाई ध्यानमा राखेर पानीको व्यवस्थापन गर्नुपर्ने देखिएकाे छ।