१० आश्विन २०८३, शनिबार

महँगी र उच्च सरकारी खर्चको त्रासले थर्कियो बन्ड बजार, अमेरिकी प्रतिफल सन् २००४ कै रेकर्ड नजिक



वैश्विक ऋणपत्रको बिक्री तीव्र बन्दा अमेरिकी ३० वर्षे बन्डको प्रतिफल सन् २००४ यताकै उच्च बिन्दुमा पुगेको छ।

काठमाडाैँ । विश्वभर सरकारी ऋणपत्र (बन्ड) बिक्रीको चाप लगातार बढिरहेका बेला बिहीबार अमेरिकी ३० वर्षे ट्रेजरी बन्डको प्रतिफल दुई दशकभन्दा बढी समययताकै उच्च विन्दुमा पुगेको छ। उच्च ऊर्जा लागत, बलियो आर्थिक वृद्धि र बढ्दो सरकारी खर्चले महँगी थप लम्बिने चिन्ताका कारण विश्वव्यापी रूपमा बन्ड बिक्रीको यो लहर झन् आक्रामक बनेको हो।

बजार महिनौंदेखि दबाबमा छ। इरानमा देखिएको द्वन्द्वले ऊर्जाको मूल्य आकाशिएको छ भने सरकारको बढ्दो खर्चले लगानीकर्ताहरूलाई झनै चिन्तित बनाएको छ। प्रतिफल बढ्नुको अर्थ बन्डको मूल्य घट्नु हो।

विश्वको सबैभन्दा ठूलो र प्रभावशाली मानिने अमेरिकी सरकारी बन्ड बजारमा यो बिक्री तीव्र हुँदा लगानीकर्ताहरूको छटपटी पनि बढेको छ। बिहीबार ३० वर्षे ट्रेजरी बन्डको प्रतिफल ५.४८ प्रतिशतमा पुगेको छ, जुन सन् २००४ यताकै सबैभन्दा धेरै हो। यता, बेञ्चमार्क मानिने १० वर्षे अमेरिकी बन्डको प्रतिफल पनि ५.२० प्रतिशत पुगेको छ।

बलियो आर्थिक वृद्धि, कर्पोरेट क्षेत्रको आकर्षक नाफा र कृत्रिम बौद्धिकता (एआई) को बलमा आएको खर्चको बाढी देखेर लगानीकर्ताले अहिलेसम्म यो वृद्धि पचाउँदै आएका थिए। प्रविधि क्षेत्रको वर्चस्व रहेको नास्डाक सूचकांक गत मंगलबार मात्रै कीर्तिमानी उचाइमा पुगेर बन्द भएको थियो।

पछिल्ला दशकमा बिरलै देखिने १० वर्षे ट्रेजरी बन्डको प्रतिफल यसै महिना ५ प्रतिशत नाघेएपछि लगानीकर्ताहरूले अब ६ प्रतिशतको सीमालाई अर्को खतराको घन्टीका रूपमा हेर्न थालेका छन्। यो सीमा पार भएमा त्यसले वित्तीय बजार र कर्पोरेट अमेरिकालाई नै नराम्रोसँग हल्लाउन सक्नेछ। यी तहहरूमा कर्जाको लागत बढ्दा यसले सीधै सर्वसाधारणलाई थिच्न थाल्नेछ।

अमेरिकामा ३० वर्षे धितो कर्जा ९मोर्टगेज० को दर अहिले द्वन्द्व हुनुभन्दा अघिको तुलनामा एक प्रतिशत बिन्दुले बढेर ७ प्रतिशतको हाराहारीमा पुगेको छ, जुन दुई वर्षयताकै उच्च हो। फेडरल रिजर्भको जुन महिनाको बैठकपछि १० वर्षे बन्डको प्रतिफल ०.७० प्रतिशत र मार्चको सुरुदेखि १.२५ प्रतिशत बिन्दुले उक्लिएको छ।

टीडी सेक्युरीटिजका अमेरिकी ब्याजदर रणनीति प्रमुख गेन्नाडिय गोल्बर्गका अनुसार मार्चयता ब्याजदरमा आएको वृद्धिको अधिकांश हिस्सा फेडरल रिजर्भको आक्रामक नीतिको अपेक्षाबाट निर्देशित छ भने बाँकी हिस्सा बलियो आर्थिक वृद्धि र तेलको महँगो मूल्यले निम्त्याएको हो।

अमेरिकी अर्थतन्त्र बलियो रहेको र महँगीको दबाब अझै नघटेको हालैका तथ्यांकले देखाएपछि फेडरल रिजर्भले ब्याजदर थप बढाउने सम्भावना बलियो बनेको छ। अल्पकालीन ट्रेजरी बन्डले भविष्यको ब्याजदरको बाटो देखाउँछ भने ३० वर्षे प्रतिफलले आगामी दिनमा सरकारलाई ऋण दिन लगानीकर्ताहरूको इच्छाशक्ति कस्तो छ भन्ने स्पष्ट पार्छ।

नर्थ क्यारोलिनास्थित क्रेडिटसाइट्सका रणनीति प्रमुख जाचरी ग्रिफिथले धेरै कुराको मूल्य पुनरावलोकन भइरहेको बताएका छन्। अमेरिकी अर्थतन्त्र लचिलो र बलियो भएकै कारण उच्च जोखिममुक्त दरको वातावरण बन्नु सकारात्मक पक्ष रहेको उनको तर्क छ।

विश्वभर उकालो लाग्दै प्रतिफल

खर्चको चाप बढ्दै जाँदा विश्वका ठूला अर्थतन्त्रहरूले पनि उच्च ब्याज भुक्तानीको भारी बोक्नुपरेको छ। जर्मनीको वित्त एजेन्सीले बिहीबार दिएको जानकारी अनुसार, ऋणको नवीकरण र विशेष कोषहरूको बढ्दो मागका कारण सन् २०२६ मा संघीय ऋण कीर्तिमानी ५२५.५ अर्ब युरो पुग्ने र आगामी वर्ष यो अझै बढ्ने अनुमान गरिएको छ।

जर्मनीको १० वर्षे बेञ्चमार्क बन्डको प्रतिफल यसै महिना केही समयका लागि ३.६ प्रतिशतभन्दा माथि पुग्यो, जुन १७ वर्षयताकै उच्च हो। यस्तै, जापानको १० वर्षे बन्डको प्रतिफल पनि बिहीबार सन् १९९६ यताकै उचाइमा पुगेको छ।

दोस्रो त्रैमासिकमा अमेरिकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर करिब ८ प्रतिशतको हाराहारीमा रहँदा र सुस्त हुने कुनै छाँटकाँट नदेखिँदा पनि लगानीकर्ताहरूमा बेचैनी कायमै छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बढ्दो कर्जा लागतलाई रोक्न टोकियोका अधिकारीहरूलाई ट्रेजरी बन्ड बेच्नबाट रोक्न येन खरिद गर्नेदेखि २० र ३० वर्षे ऋणको पुनर्खरिद बढाउनेसम्मका असाधारण कदम चालेका छन्।

तर, यी प्रयासका बावजुद पनि प्रतिफल रोकिने नाम लिएको छैन। अहिले अमेरिका सात धनी राष्ट्रहरूको समूह (जी-७) का मुलुकहरूमा सबैभन्दा बढी प्रतिफल दिने अर्थतन्त्रहरूको सूचीमा उभिएको छ।

न्युयोर्क फेडरल रिजर्भका अध्यक्ष जोन विलियम्सले बिहीबार अमेरिकी अर्थतन्त्रले असाधारण लचकता देखाएको बताएका छन्। एसएमबिसी ईएमईएका विश्व बजार रणनीतिकार हान्к क्यालेन्टीले ट्रेजरी बन्डहरू बजारका अन्य क्षेत्रसँग खरिदका लागि कडा प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै अब यो प्रतिफल कहाँसम्म पुग्छ भन्न सकिने अवस्था नरहेको प्रतिक्रिया दिएका छन्।