१ कार्तिक २०८३, आइतबार

अविरल वर्षासँगै गएको पहिरोले राजधानी जोड्ने अधिकांश सडक अवरुद्ध, हेर्नुहोस् कुन रुटको अवस्था कस्तो छ?



काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको पहिरो र सडक भासिँदा मुख्य राजमार्गसहित अधिकांश सडक खण्डहरू अवरुद्ध भएका छन्।

विशेषगरी सङ्घीय राजधानी काठमाडौंलाई मधेस प्रदेश र तराईका अन्य जिल्लाहरूसँग जोड्ने सडकहरू बाढी र पहिरोका कारण नराम्ररी प्रभावित बनेका छन्।

अविरल वर्षाका कारण देशकै मुख्य लाइफलाइन मानिने मुग्लिन-नारायणगढ सडक खण्ड र पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन्।सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान करिब ७:५५ बजेदेखि नाम्सी खोला पुलमाथि लेदोसहितको पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक बन्द भएको हो।

त्यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङस्थित कृष्णभिर, तिङग्राङखानी र ज्यामिरे क्षेत्रमा पहिरो खस्दा दुवैतर्फको आवागमन रोकिएको छ। नयाँ ट्र्याक खोल्ने क्रममा प्लास्टिकले छोपिएको भागबाट लेदोसहितको पहिरो खसिरहेकाले गाडी चलाउन सक्ने अवस्था छैन। चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि पृथ्वी राजमार्गको यस खण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएका छन्।

यता, हेटौँडालाई काठमाडौँ जोड्ने अधिकांश छोटो दूरीका सडक सञ्जालहरू पनि पहिरोका कारण अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहेको छ। अत्यावश्यक सामग्री तथा सवारी साधनहरूका लागि अहिले यही मार्ग प्रयोग भइरहेको छ।

हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ अन्तर्गत मकवानपुरतर्फको सडक सञ्चालन योग्य भए पनि ललितपुरको बागमती गाउँपालिकास्थित पाँचधुरे र टाँकुरेमा गएराति खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। यसैगरी आज बिहान टिकाभैरवमा रुख ढल्दा समेत उक्त सडक खण्ड बन्द भएको छ।

हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ किटनीमा वर्षाका कारण सडक भासिएर एकतर्फी आवागमनसमेत जोखिमपूर्ण बनेपछि चालकहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। त्यसैगरी, हेटौँडा–भीमफेदी–सिस्नेरी सडक खण्डको ज्यालटार, जुरीखेत र धाराखोल्सामा लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ।

अन्य राजमार्गहरूको अवस्था पनि सामान्य छैन। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ नेवारपानी (रजैया नजिकै) सडकमा माथिबाट पहिरो र ढुङ्गा खस्दा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको छ।

त्यस्तै, धरान–चतरा सडक खण्ड अन्तर्गत हेटौँडाको हटिया बजारदेखि चिसापानीसम्म करिब १० वटा विद्युत्‌का पोल ढलेका कारण उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। जताततै सडक बन्द भएपछि जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको भए पनि लगातारको वर्षाले कठिनाइ उत्पन्न गरिरहेको छ।