बाढी र पहिरोले देशैभरि टेलिकमका सेवा प्रभावित, बिग्रिएका संरचना मर्मतका लागि मौसम खुल्ने प्रतीक्षा
अविरल वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानका सञ्चार सेवा अवरुद्ध भएका छन् भने मौसममा सुधार आउनासाथ मर्मत तीव्र पारिने कम्पनीले जनाएको छ।
काठमाडाैँ । देशभर जारी लगातारको वर्षा, हावाहुरी र बाढीपहिरोका कारण नेपाल टेलिकमका धेरै ठाउँमा सञ्चार सेवा अवरुद्ध हुन पुगेका छन्। गएको असोज ८ गतेदेखि उत्पन्न भएको विषम परिस्थितिका कारण कम्पनीको पूर्वाधारमा क्षति पुगेपछि दूरसञ्चार सेवामा समस्या देखिएको हो।
भारी वर्षा र पहिरोका कारण यातायात अवरुद्ध हुनु, अप्टिकल फाइबरमा क्षति पुग्नु र विद्युत् आपूर्ति बन्द हुनुले सेवा निरन्तरतामा कठिनाई थपेको छ। यस्तै, लगातारको वर्षा, बाक्लो बादल र हिमपातका कारण सोलारबाट सञ्चालित टावरहरूले पनि पूर्ण क्षमतामा काम गर्न सकेका छैनन्।
प्राविधिक रूपमा प्रणालीबाट गर्न सकिने मर्मतका कामहरू भने निरन्तर भइरहेका छन्। मौसममा सुधार हुनेबित्तिकै सम्बन्धित स्थलमा खटिनका लागि प्राविधिक टोलीलाई पूर्ण तयारी अवस्थामा राखिएको कम्पनीले स्पष्ट पारेको छ।
विपदको यो असहज परिस्थितिमा सेवाग्राहीले देखाएको धैर्यताप्रति कम्पनीले आभार प्रकट गरेको छ। साथै, सेवा अवरुद्ध हुँदा ग्राहकहरूलाई पर्न गएको असुविधाप्रति नेपाल टेलिकमले क्षमा माग्दै यथाशीघ्र सेवा सुचारु गर्न लागीपरेको जनाएको छ।

















