११ आश्विन २०८३, आइतबार

पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले परिवारको जिम्मा लगायो, पक्राउको कारण भने खुलाईन



काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। शनिबार राति महाराजगञ्जस्थित आफ्नै निवासबाट पक्राउ गरिएका जबरालाई केही समयअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताएका छन्।

यसअघि कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई असुरक्षाका कारण सुरक्षित स्थानमा राखिएको जानकारी दिएका थिए। यद्यपि, उक्त सुरक्षित स्थानबारे प्रहरीले स्पष्ट विवरण सार्वजनिक गरेको छैन।

अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शनिबार राति जबरालाई निवासबाट नियन्त्रणमा लिएको थियो। पक्राउको कारणबारे सरकारले औपचारिक रूपमा जानकारी भने दिएको छैन।

जबरालाई भेट्न कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न अनुमति नदिएको बताइएको छ। करिब ४५ मिनेट गेटमै प्रतीक्षा गरेपछि आयोगको टोली फर्किएको थियो।

एसएसपी खड्काका अनुसार सुरक्षा जोखिमलाई ध्यानमा राख्दै जबरालाई राति नै कार्यालयमा ल्याइएको थियो। प्रहरी टोली निवास पुगेपछि जबराले आफ्ना भाइ प्रभुशम्शेरलाई फोनमार्फत घटनाबारे जानकारी गराएका थिए। प्रभुशम्शेरले पनि प्रहरीले ‘जेनजी समूहबाट सुरक्षा खतरा रहेको’ भन्दै दाइलाई नियन्त्रणमा लिएको बताएका छन्।

घटनामा प्रहरी कारबाहीको शैलीलाई लिएर कानुनका जानकारहरूले भने प्रश्न उठाएका छन्।