१२ आश्विन २०८३, सोमबार

नेपाली बजारमा अस्तित्वको लडाइँ लड्दै ‘लाभा माेबाइल’: फिचर फोनको भरमा कति दिन टिक्ला व्यापार ?



काठमाडौँ। कुनै समय नेपाली स्मार्टफोन बजारमा ‘लाभा’ ब्रान्डको छुट्टै दबदबा थियो। विशेष गरी बजेट र मिडरेंज सेग्मेन्टमा सर्वसाधारण ग्राहकको पहिलो रोजाइ बन्ने गरेको यो भारतीय मोबाइल ब्रान्ड आज भने नेपाली बजारमा अस्तित्वको लडाइँ लडिरहेको छ।

नेपालमा अम्बे समूहअन्तर्गतको अम्बे मोबाइल्स प्रालिले आधिकारिक वितरकका रूपमा भित्र्याएको लाभा मोबाइलको कारोबार पछिल्ला चार वर्षयता निरन्तर ओरालो लागेको छ। आर्थिक वर्ष २०२२ मा १ अर्ब ३४ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको आम्दानी २०२६ मा आइपुग्दा घटेर ७७ करोड रुपैयाँमा सीमित भएको छ।

कम्पनीको कारोबार आर्थिक वर्ष २०२३ मा केही बढेर १ अर्ब ३४ करोड ३० लाख रुपैयाँ पुगे पनि त्यसपछि भने लगातार घटेको देखिन्छ। आर्थिक वर्ष २०२४ मा कारोबार १ अर्ब १९ करोड १० लाख रुपैयाँमा झरेको थियो भने २०२५ मा ८५ करोड ५० लाख रुपैयाँमा सीमित भयो। यसरी चार वर्षको अवधिमा अम्बे मोबाइल्सको कारोबार करिब ४२.६२ प्रतिशतले घटेको छ।

कारोबारमा आएको यो गिरावटको पछाडि आपूर्तिकर्ताबाट समयमा सामान उपलब्ध नहुनु र स्मार्टफोन बजारमै आएको भारी गिरावटलाई मुख्य कारण मानिएको छ। त्यसमाथि नेपाली बजारमा स्थापित तथा नयाँ ब्रान्डबीचको बढ्दो प्रतिस्पर्धाले लाभालाई थप दबाबमा पारेको छ।

अहिले नेपाली स्मार्टफोन बजारमा साओमी, सामसुङ, रियलमी, भिभो, ओप्पोजस्ता स्थापित ब्रान्डसँगै विभिन्न चिनियाँ ब्रान्डबीच तीव्र प्रतिस्पर्धा छ। प्रविधिमा भइरहेको तीव्र परिवर्तन, ग्राहकको बढ्दो अपेक्षा र प्रतिस्पर्धी कम्पनीहरूको आक्रामक बजार विस्तारका अगाडि लाभाका स्मार्टफोनहरू भने क्रमशः ओझेलमा पर्दै गएका छन्।

यसको प्रत्यक्ष असर कम्पनीको उत्पादन बिक्रीमा देखिएको छ। स्मार्टफोनको बिक्री कमजोर बन्दै गएपछि अहिले लाभाको मुख्य सहारा साधारण मोबाइल फोन बनेका छन्। कम्पनीको कुल आम्दानीमा यस्ता फोनको हिस्सा बढेर ७७ प्रतिशत पुगेको छ। यसले नेपाली बजारमा लाभा स्मार्टफोन केन्द्रित ब्रान्डबाट साधारण मोबाइल फोनमा बढी निर्भर ब्रान्डका रूपमा सीमित हुँदै गएको संकेत गर्छ।

हाल नेपाली बजारमा लाभाका स्मार्टफोन निकै सीमित मात्रामा उपलब्ध छन्। कम्पनीले मुख्य रूपमा लाभा क्याप्टेन, आर्क र जेम सिरिजका साधारण मोबाइल फोन बिक्री गरिरहेको छ। यस्ता फोनको मूल्य करिब १५०० सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म पर्छ।

स्मार्टफोनतर्फ भने लाभा जेड ३, लाभा युवा २ प्रो तथा ब्लेज सिरिजका केही पुराना मोडल बजारमा भेटिने गरेका छन्।

बिक्री र कारोबार निरन्तर घटे पनि साधारण मोबाइल फोनबाट प्राप्त तुलनात्मक रूपमा राम्रो नाफा दरका कारण कम्पनीको सञ्चालन नाफा दरमा भने सुधार आएको छ। आर्थिक वर्ष २०२५ मा ४.१ प्रतिशत रहेको सञ्चालन नाफा दर २०२६ मा बढेर ५.४ प्रतिशत पुगेको छ।

नाफा दरमा आएको सुधारसँगै बैंकको ब्याजदर घटेकाले कम्पनीको ऋण तिर्ने क्षमतामा पनि उल्लेख्य सुधार देखिएको छ। आर्थिक वर्ष २०२५ मा १.८ गुणा रहेको ब्याज भुक्तानी क्षमता २०२६ मा बढेर ७.४ गुणा पुगेको छ।

तर कम्पनीको कार्यपुँजीमा भने दबाब बढेको देखिन्छ। आर्थिक वर्षको चौथो त्रैमासिकको अन्त्यतिर ठूलो मात्रामा सामान खरिद गरिएकाले कम्पनीको मौज्दात र कार्यपुँजी बढेको हो। कुल आम्दानीको तुलनामा खुद कार्यपुँजीको अनुपात आर्थिक वर्ष २०२५ मा १९ प्रतिशत रहेकोमा २०२६ मा बढेर ३८ प्रतिशत पुगेको छ। यससँगै कम्पनीले बैंकबाट प्राप्त कर्जा सीमाको करिब ९९ प्रतिशत उपयोग गरिसकेको छ।

कम्पनीको कारोबारमा आएको गिरावट, सञ्चालन अवस्था, कार्यपुँजीको दबाब र बजार प्रतिस्पर्धालगायतका पक्षलाई मूल्यांकन गर्दै क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले अम्बे मोबाइल्सको ५८ करोड ३ लाख रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधाको रेटिङ पुनः पुष्टि गरेको छ। कम्पनीले ‘इक्राएनपी ए फोर प्लस’ रेटिङ पाएको हो।

अम्बे मोबाइल्स नेपालमा लाभा मोबाइल फोनको एकमात्र आधिकारिक वितरक हो। कम्पनीसँग नेपालभर ४६ वटा बिक्री तथा मर्मत केन्द्रको सञ्जाल रहेको छ। तर बजारमा स्मार्टफोनको माग र प्रतिस्पर्धाको स्वरूप तीव्र रूपमा बदलिइरहेका बेला लाभाले आफ्नो मुख्य स्मार्टफोन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन भने ठूलो चुनौती सामना गर्नुपर्ने देखिन्छ।

कुनै समय बजेट स्मार्टफोनको बजारमा बलियो उपस्थिति बनाएको लाभा अहिले साधारण मोबाइल फोनको बिक्रीमा बढी निर्भर हुन पुगेको छ। घट्दो कारोबार, सीमित स्मार्टफोन उत्पादन र आक्रामक प्रतिस्पर्धाबीच लाभाले नेपाली बजारमा आफ्नो पुरानो स्थान फर्काउन सक्छ कि साधारण मोबाइल फोनमै सीमित भएर बस्छ भन्ने अब मुख्य प्रश्न बनेको छ।