दशैं–तिहारको मुखमा चीनसँगको व्यापार प्रभावित: कोरला नाकाको पनि सडक अवरुद्ध
काठमाडौँ। दशैं–तिहारलाई लक्षित गरी चीनबाट नेपाल भित्रिने लत्ताकपडा, विद्युतीय उपकरणलगायतका सामानको आयात यस वर्ष प्रभावित हुने देखिएको छ। चीनसँग जोडिएका प्रमुख नाकामध्ये रसुवागढी र कोरला क्षेत्रमा प्राकृतिक विपत्तिका कारण सडक तथा आवागमन अवरुद्ध भएपछि सामान ढुवानीमा समस्या आएको हो।
रसुवागढी नाका बाढीका कारण सञ्चालनमा कठिनाइमा परेको छ भने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोरला नाका पनि लगातारको वर्षा र हिमपातका कारण प्रभावित बनेको छ।
शनिबार रातिदेखि परेको भारी वर्षा तथा हिमपातले जोमसोम–कोरला सडकखण्डका धेरै ठाउँमा यातायात ठप्प भएको छ। म्याग्दी–मुस्ताङ सीमाको काभ्रेभीरदेखि कोरला नाकासम्म विभिन्न स्थानमा पहिरो खसेको छ। उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी हिमपात भएपछि सडकमार्गबाट आवतजावत गर्न समस्या भएको हो।
कोरला सडक बन्द भएपछि नेपाल–चीनबीचको वैकल्पिक व्यापारिक मार्गबाट हुने आयात–निर्यात पनि प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा मुस्ताङ भन्सार परिसरमा ठूलो संख्यामा कन्टेनर रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार काभ्रेभीर क्षेत्रमा पहिरोसँगै ठूला ढुंगा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। थासाङ गाउँपालिका–४ घाँसा आसपासका क्षेत्रमा समेत पहिरोले सडक अवरुद्ध पारेको छ। तल्लो घाँसा तथा घाँसा चेकपोस्ट नजिकबाट खसेको पहिरोका कारण यातायात सञ्चालन हुन सकेको छैन।
घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ फार्म नजिक रहेको फाराम खोलामा आएको बाढीले समेत सडक बन्द भएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिएका छन्। उनका अनुसार सडक अवरुद्ध भए पनि अन्य ठूलो भौतिक क्षति भएको छैन। सडक खुलाउन गाउँपालिकाले डोजर परिचालन गरेको छ।
यसैगरी, जोमसोम–पान्डा खोला सडकखण्डमा पहिरो खसेको छ। कागबेनीदेखि वारागुङ–३ चैलेसम्मको सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
कोरला नाकातर्फ जाने बाटोमा पर्ने मुस्ताङ गेट नजिकको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढी आएपछि सडकको ट्र्याकमा क्षति पुगेको छ। कागबेनीदेखि चैलेसम्म करिब आधा दर्जन ठाउँमा पहिरो खसेर सडक संरचनामा समेत क्षति पुगेको प्रहरीको भनाइ छ।
उपल्लो मुस्ताङको लोमान्थाङ र कोरला क्षेत्रमा पनि भारी हिमपात भएको छ। लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका इन्चार्ज प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरला नाका तथा भन्सार क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ।
हिमपातले दशगजा क्षेत्रमा पाल राखेर व्यापार गरिरहेका स्थानीय व्यवसायीसमेत प्रभावित भएका छन्। हिमपातका कारण आधा दर्जनभन्दा बढी पाल भत्किएका छन्। कोरला र लोमान्थाङबीचको सडक हिउँले ढाकेपछि यातायात सेवा पनि रोकिएको छ।
प्रहरी निरीक्षक धितालका अनुसार मौसम प्रतिकूल बनेपछि नेपाल–चीनबीचको आयात–निर्यात व्यापारमा प्रत्यक्ष असर परेको छ। मुस्ताङ भन्सार यार्डमा भन्सार प्रक्रिया पूरा गरिसकेका तथा सीमापारबाट सामान ल्याउन जाने तयारीमा रहेका २०० भन्दा बढी कन्टेनर रोकिएका छन्।
प्राकृतिक विपत्तिको असर विद्युत् आपूर्तिमा समेत परेको छ। घरपझोङ र थासाङ गाउँपालिकाको सीमामा पर्ने चोखोपानीस्थित २४० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएको निलगिरि उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीले बताएका छन्।
त्यसैगरी, म्याग्दीको दानादेखि कोवाङसम्मको ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि शनिबार रातिदेखि मुस्ताङ जिल्लाभर विद्युत् सेवा प्रभावित भएको छ।
लगातारको वर्षाका कारण सञ्चार सम्पर्कमा समेत समस्या देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। सञ्चार अवरुद्ध हुँदा जिल्लामा भएको क्षतिको विस्तृत विवरण संकलन गर्न कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पनि रातिको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेको छ। दर्जनौँ ठाउँमा सडक अवरुद्ध भएकाले यातायात सञ्चालनमा समस्या भइरहेको छ।














