चाडपर्व नजिकिएसँग ट्राफिक प्रहरीको सक्रियता बढ्यो, यस्तो छ व्यवस्थापनको तयारी
काठमाडौं। चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले ट्राफिक प्रहरीले सवारी अनुगमन तथा चेकजाँचलाई तीव्र बनाउने भएको छ। विशेषगरी यात्रुको चापसँगै टिकट बिक्रीमा हुन सक्ने अनियमितता र सवारी नियम उल्लंघन नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार चाडपर्वका समयमा यात्रुको चाप बढ्दा टिकट बिक्रीमा कालोबजारी तथा ठगी हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा निगरानी बढाइएको हो।
प्रहरीका अनुसार तोकिएकोभन्दा बढी भाडा असुल्ने, सवारीको क्षमताभन्दा बढी टिकट काट्ने तथा एउटै सिटका लागि एकभन्दा बढी टिकट बिक्री गर्नेजस्ता गतिविधि हुन सक्ने भएकाले चेकजाँचलाई प्रभावकारी बनाइने प्रहरीले जनाएको छ।
तीव्र गति र ओभरलोडिङमा पनि कडाइ
चाडपर्वको समयमा सडकमा सवारीको संख्या बढेसँगै तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु वा सामान बोक्ने तथा सवारीसाधनबीच अस्वस्थ प्रतिस्पर्धा गर्ने जोखिम पनि बढ्ने प्रहरीको भनाइ छ। यस्ता गतिविधिबाट हुन सक्ने दुर्घटना रोक्न सडक तथा सार्वजनिक यातायातमा निगरानी बढाउने तयारी गरिएको छ।
यात्रुको सुरक्षा र सहजताका लागि उपत्यकाका प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ। बसपार्क, चाबहिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुल्चोक, नागढुङ्गा, कलंकी, भीमढुङ्गा र साँखुलगायत क्षेत्रमा सहायता कक्ष राखेर संयुक्त रूपमा चेकजाँच तथा अनुगमन गरिने प्रहरीले जनाएको छ।
अनुगमनका क्रममा सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण गरिनेछ। साथै, सवारीको प्रदूषणसमेत जाँच गरिने बताइएको छ। लामो दूरीमा सञ्चालन हुने सवारीसाधनमा कानुनअनुसार दुई जना चालक अनिवार्य हुनुपर्ने व्यवस्थालाई पनि कडाइका साथ कार्यान्वयन गरिने प्रहरीको भनाइ छ।
ब्रेथलाइजरमार्फत मापसे परीक्षण
चाडपर्वका बेला मादक पदार्थ सेवन गरेर सवारी चलाउने सम्भावना बढ्ने भएकाले ब्रेथलाइजरमार्फत परीक्षणलाई थप प्रभावकारी बनाइनेछ।दिवा र रात्रिकालीन दुवै समयमा सडकमा ट्राफिक प्रहरीको उपस्थिति बढाएर सवारी आवागमनलाई सुरक्षित बनाउने तयारी गरिएको छ।
चाडपर्वका अवसरमा मठमन्दिर तथा धार्मिक स्थलमा दर्शनार्थीको भीड बढ्ने भएकाले त्यस्ता स्थानमा पार्किङ व्यवस्थापनका लागि पनि ट्राफिक प्रहरी परिचालन गरिनेछ। चाडपर्वको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सिभिल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगर प्रहरीबीच समन्वय गरेर संयुक्त रूपमा काम गर्ने तयारी गरिएको छ।
प्रहरीका अनुसार विभिन्न निकायको समन्वयमा सञ्चालन हुने अनुगमनले यात्रु सुरक्षा, सवारी व्यवस्थापन तथा सडक अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।














