प्रतिस्पर्धा बढ्दै जाँदा ओला इलेक्ट्रिकले ल्यायो १ अर्ब भारूको हकप्रद सेयर प्रस्ताव
विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएपछि ओला इलेक्ट्रिकले आफ्नो वित्तीय अवस्थालाई सुदृढ पार्न १ अर्ब भारू बराबरको हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।
काठमाडाैँ । विद्युतीय दुईपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी ओला इलेक्ट्रिकको सञ्चालक समितिले १ अर्ब भारू (रु. १,००० करोड) सम्मको रकम उठाउने उद्देश्यले आंशिक चुक्ता इक्विटी सेयरहरूको हकप्रद निष्कासनलाई अनुमोदन गरेको छ।
पछिल्लो केही महिनामा कम्पनीले सार्वजनिक गरेको यो दोस्रो ठूलो कोष जुटाउने योजना हो। बढ्दो बजार प्रतिस्पर्धाबीच आफ्नो वित्तीय स्थिति र वासलातलाई बलियो बनाउने प्रयासस्वरूप कम्पनीले यो कदम चालेको हो।
नियामक निकायमा पेस गरिएको विवरणअनुसार, बेंगलोरस्थित यस कम्पनीले यसअघि केही साताअघि मात्रै १ अर्ब ५० करोड भारू सम्मको रकम जुटाउने योजनालाई पनि स्वीकृति दिएको थियो। यसबाहेक, ओला इलेक्ट्रिकले गत जुन महिनामा योग्य संस्थागत प्लेसमेन्ट मार्फत आफ्नो ५० करोड भारूको सुरुवाती लक्ष्यलाई पार गर्दै ७८ करोड भारू संकलन गरेको थियो।
नयाँ हकप्रद निष्कासनअन्तर्गत, योग्य शेयरधनीहरूलाई तोकिएको रेकर्ड डेटको आधारमा आंशिक चुक्ता इक्विटी सेयरहरू प्रस्ताव गरिनेछ। यस रेकर्ड डेटको घोषणा भने पछि गरिनेछ। जारी गरिने सेयर संख्या, सेयर मूल्य, समयसीमा र भुक्तानी तालिका लगायतका महत्त्वपूर्ण सर्तहरू भने कम्पनीको बोर्डले आगामी दिनमा अन्तिम रूप दिनेछ।
पारम्परिक अटोमोबाइल कम्पनीहरू तथा अन्य विद्युतीय सवारी साधन उत्पादकहरूबाट बजारमा बढ्दो प्रतिस्पर्धा सामना गरिरहेको ओला इलेक्ट्रिकले आफ्नो व्यवसायलाई विस्तार गर्दै वासलात सुदृढ गर्न यो पुँजी संकलनलाई तीव्रता दिएको हो।
बजार तथ्याङ्क अनुसार टीभीएस मोटर, बजाज अटो, एथर इनर्जी र हिरो मोटोकर्पजस्ता कम्पनीहरूले विद्युतीय दुईपाङ्ग्रे बजारमा आफ्नो हिस्सा बढाउँदै लगेका छन् भने मासिक दर्ताको हिसाबले ओला इलेक्ट्रिक पाँचौं स्थानमा झरेको छ।
कम्पनीले यो कोष संकलन यस्तो समयमा अघि बढाएको छ जतिबेला यसको सञ्चालन कार्यसम्पादनमा पनि दबाब देखिएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ओला इलेक्ट्रिकको सञ्चालन आम्दानी घटेर ४५५ करोड भारूमा सीमित भएको छ, जुन गत वर्ष सोही अवधिमा ८२८ करोड भारू रहेको थियो।
त्यस्तै, वाहनको तथ्याङ्क अनुसार सवारी साधनको दर्ता पनि अघिल्लो वर्षको ५४,६७६ थानबाट घटेर ४३,०६२ थानमा पुगेको छ। यद्यपि, सोही अवधिमा कम्पनीको खुद घाटा भने अघिल्लो वर्षको ४२८ करोड भारूबाट घटेर ३३६ करोड भारूमा सीमित भएको छ।














