कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल बीचबाट चुँडियो
काठमाडौं। महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलमा ठूलो क्षति पुगेको छ। आज बिहान करिब ८ बजेतिर नदीको बहावले पुलको बीच भागमा रहेको एउटा पिलर भत्काएपछि पुलको एक खण्ड नदीमा खसेको हो। प्रत्यक्षदर्शीका अनुसार पिलर कमजोर हुँदै गएपछि पुलको संरचना नदीमा बगेको थियो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं र दोधारा–चाँदनीतर्फबाट तेस्रो खण्डमा क्षति पुगेको छ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले घटनाको प्राविधिक अध्ययन गर्ने तयारी गरेको छ। निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार पुलमा भएको क्षतिको वास्तविक अवस्था पत्ता लगाउन प्राविधिक टोली स्थलगत निरीक्षणमा पठाइनेछ।
जोशीले क्षतिको प्रारम्भिक जानकारी प्राप्त भइसकेको र प्राविधिक टोली पठाउने तयारी भइरहेको बताए। उनका अनुसार टोलीको विस्तृत अध्ययनपछि मात्रै पुलमा भएको क्षतिको वास्तविक परिमाण निर्धारण हुनेछ।
बिहानै देखिएको थियो पुलमा समस्या
दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने उक्त झोलुङ्गे पुल २०६१ सालमा निर्माण सम्पन्न भएको थियो। स्थानीयका अनुसार बिहान करिब ४–५ बजेतिर पुलबाट आवतजावत गर्ने केही स्थानीयले पुलको एउटा भाग सामान्यभन्दा अस्वाभाविक रूपमा माथि उठेको देखेका थिए। उनीहरूले त्यसबारे प्रहरीलाई समेत जानकारी गराएका थिए।
तर केही घण्टापछि, करिब ८ बजेतिर, माथि उठेको उक्त भाग नदीमा खसेको रावलले बताए। पुलको एउटा खण्ड भत्किएपछि दोधारा–चाँदनी र भीमदत्तनगरबीचको सोझो आवतजावत अवरुद्ध भएको छ। अब यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ। रावलका अनुसार पक्की पुलबाट यात्रा गर्न करिब दुई किलोमिटर माथितर्फ जानुपर्ने अवस्था आएको छ।















