प्रधानमन्त्रीसँगको निर्धारित प्रश्नोत्तरबिना नै अन्त्य हुँदै संघीय संसद्को चालु अधिवेशन
काठमाडौं। सरकारको सिफारिसमा संघीय संसद्को चालु अधिवेशन भोलि अर्थात् असोज १६ गते राति १२ बजेबाट अन्त्य हुने भएको छ।
मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन समाप्त गर्न राष्ट्रपतिसमक्ष औपचारिक सिफारिस गर्ने निर्णय गरेको हो। नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने प्रावधान रहेको छ।
गत वैशाख २८ गतेदेखि सुरु भएको चालु अधिवेशन करिब पाँच महिनासम्म सञ्चालन भयो। यस अवधिमा सरकारको नीति तथा कार्यक्रम, चालु आर्थिक वर्षको बजेट र सोसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू संसद्बाट सफलतापूर्वक पारित भएका छन्।
त्यसैगरी, संसद् नभएको समयमा सरकारद्वारा जारी गरिएका अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकहरू पनि यसै अधिवेशनबाट पारित भई ऐनको रूपमा कार्यान्वयनमा आइसकेका छन्।
यसबाहेक वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक, नेपाल विशेष सेवा ऐन (२०४२) को साविक व्यवस्था ब्युँताउने विधेयक तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयकहरू पनि यसै अधिवेशनबाट पारित भई प्रमाणीकरण भइसकेका छन्।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन सकेन
संसद्को चालु अधिवेशनमा विभिन्न मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्नोत्तर र समसामयिक विषयमा सरकारको तर्फबाट जवाफ दिने काम भए पनि नियमावलीमै व्यवस्था भए बमोजिम प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने हुन सकेन।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रत्येक महिनाको पहिलो साताको कुनै एक बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय छुट्याउनुपर्ने अनिवार्य व्यवस्था छ।
सोही व्यवस्थाअनुसार गत भदौ १० गतेका लागि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। तर, सोही दिन रसुवामा गएको विनाशकारी बाढीका कारण उक्त कार्यक्रम स्थगित हुन पुग्यो।
त्यसपश्चात अधिवेशन अन्त्य हुने बेलासम्म पुन: नयाँ मिति नतोकिएपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तरबिना नै यो अधिवेशन समापन हुने भएको छ।















