१५ आश्विन २०८३, बिहिबार

यांगोको पहिलो वार्षिकोत्सव तथा दसैं अफर: राइडरहरूलाई शुन्य प्रतिशत पार्टनर शुल्क र आकर्षक उपहार



काठमाडौं । यांगोको स्थानीय फ्लीट पार्टनर इनोहभ सर्भिसेसले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव तथा बडादसैंको अवसरमा ‘यांगो इनोहभ राइडर’हरूका लागि शुन्य प्रतिशत पार्टनर शुल्क र आकर्षक उपहारको घोषणा गरेको छ ।

यस अफरअन्तर्गत दसैं अवधिभर राइडरहरूले कुनै पार्टनर शुल्क तिर्नुपर्ने छैन भने उनीहरूलाई प्रोत्साहन स्वरूप रेनकोट, पावर बैंक र मोबाइल होल्डर जस्ता उपयोगी सामग्रीहरू समेत वितरण गरिएको छ ।

करिब एक वर्षदेखि काठमाडौँ उपत्यकामा यांगोसँगको साझेदारीमा राइड–हेलिङ सेवा दिँदै आएको कम्पनीमा हाल ५०० भन्दा बढी राइडर आबद्ध भइसकेका छन् । बढ्दो बजार मागलाई ध्यानमा राख्दै हाल २५० भन्दा बढी बाइकमार्फत सेवा दिइरहेको इनोहभले तिहारपछि आफ्नो फ्लीट संख्या विस्तार गरेर ५०० पुर्‍याउने तयारी गरेको छ ।

मुख्यगरी आफ्नै सवारीसाधन खरिद गर्न आर्थिक रूपमा सक्षम नभएका तर राइडिङमार्फत आम्दानी गर्न चाहने व्यक्तिहरूलाई लक्षित गर्दै कम्पनीले विनालगानी स्वरोजगारको अवसर सिर्जना गरेको छ ।

मोटरसाइकल लाइसेन्स र सवारी चलाउने अनुभव भएका व्यक्तिले यांगोको प्लेटफर्ममा अकाउन्ट खोली नारायणगोपाल चोक, महाराजगञ्जस्थित इनोहभको कार्यालयमा आवश्यक कागजात पेस गरेपछि विनाकुनै अग्रिम रकम (डाउनपेमेन्ट) बाइक प्राप्त गर्न सक्नेछन् ।

राइडरहरूले आफ्नो सुविधा अनुसार ‘तलब मोडल’ वा ‘रेन्टल मोडल’ छनोट गरेर काम सुरु गर्न सक्नेछन् भने निश्चित सर्त पूरा गर्नेहरूका लागि खाने तथा बस्ने सुविधा समेत व्यवस्था गरिएको छ । साथै, उपत्यकामा जोडिन चाहनेहरूका लागि दर्ता प्रक्रिया पूर्ण रूपमा निःशुल्क गरिएको छ ।

यसैबीच, असोजको अन्तिम साता पुराना जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटर साटेर नयाँ खरिद गर्न चाहने राइडरहरूलाई लक्षित गरी साताव्यापी ‘बाइक एक्सचेन्ज प्रोग्राम’ आयोजना गरिने भएको छ ।

मेलामा पुराना सवारीसाधनको उच्च मूल्याङ्कन, विशेष छुट र सहज किस्ताबन्दीको सुविधा दिइनेछ। विशेष गरी यांगो राइडरका लागि शुन्यप्रतिशतसम्म ब्याजदर र २४ देखि ६० महिनासम्मको कर्जा अवधि रहने गरी तीन प्रकारका फाइनान्सिङ प्याकेजहरू उपलब्ध गराइनेछ ।

स्थानीय साझेदारमार्फत सेवा विस्तार गर्ने मोडल अपनाएको इनोहभले आगामी दिनमा नेपालको राइड सेयरिङ क्षेत्रमा थप परिष्कृत तथा नवीन सेवा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।