सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं। सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा बढी हो। सन् २०२५ को सेप्टेम्बरमा नेपालमा ७८ हजार ७११ विदेशी पर्यटक आएका थिए।
सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटकमध्ये दक्षिण एसियाली मुलुकबाट मात्रै ३० हजार ८५ जना आएका छन्। यस क्षेत्रबाट आउनेमा भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै रहेको छ। एक महिनामा १७ हजार ४२५ भारतीय नागरिक नेपाल आएका छन्।
दक्षिण एसियाका अन्य मुलुकबाट श्रीलंकाका ७ हजार १०८, बंगलादेशका ३ हजार ९६४, भुटानका १ हजार १११, पाकिस्तानका ४२९, माल्दिभ्सका ४८ र अफगानिस्तानका ८ पर्यटक नेपाल आएका छन्।
त्यस्तै, अन्य एसियाली राष्ट्रबाट १९ हजार ८८८ पर्यटक नेपाल प्रवेश गरेका छन्। तीमध्ये चीनबाट ११ हजार २१२, जापानबाट २ हजार ६६, दक्षिण कोरियाबाट १ हजार ४१२, थाइल्याण्डबाट ६०१ र भियतनामबाट ६३७ जना आएका छन्।
क्षेत्रगत रूपमा हेर्दा युरोपबाट १५ हजार १४८, ओसियानाबाट ५ हजार ४२२, अमेरिकाबाट १० हजार १०७, मध्यपूर्वबाट २ हजार ६०६ र अफ्रिकी मुलुकबाट ४ हजार ५६८ पर्यटक नेपाल आएका छन्।
समग्रमा गत वर्षको तुलनामा पर्यटक आगमनमा वृद्धि देखिए पनि प्राकृतिक विपद्का कारण अपेक्षित रूपमा पर्यटक संख्या बढ्न नसकेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पर्यटन आवागमनमा समेत प्रभाव पारेको थियो।















