दोधारा–चाँदनीको क्षतिग्रस्त झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली सुदूरपश्चिममा
काठमाडौं। कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलमा भएको क्षतिको मूल्यांकन गर्न प्राविधिक टोली सुदूरपश्चिम पुगेको छ।
शहरी विकास मन्त्रालयअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरका उपमहानिर्देशक कमल अधिकारीको नेतृत्वमा प्राविधिक टोली बिहीबार कैलालीको धनगढी पुगेको थियो। टोलीले आज कञ्चनपुरको दोधारा–चाँदनीमा क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ।
अधिकारीका अनुसार पुलको वास्तविक अवस्था अध्ययन गरेपछि आवश्यक मर्मत वा पुनर्निर्माणका विषयमा निर्णय लिइनेछ। उनका अनुसार उक्त पुल सम्बन्धित निकायले नै निर्माण गरेको भएकाले क्षतिको प्राविधिक अवस्था बुझेर आगामी कदम तय गरिनेछ।
प्राविधिक प्रतिवेदनपछि पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने
पुलमा क्षति पुगेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला पनि स्थलगत निरीक्षणका लागि दोधारा–चाँदनी पुगेका थिए। उनले प्राविधिक अध्ययन सुरु भइसकेको र त्यसबाट प्राप्त हुने प्रतिवेदनका आधारमा पुल पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका छन्।
पुल मर्मतका लागि आवश्यक समन्वय गर्न प्रमुख जिल्ला अधिकारी कोइरालाले बिहीबार गृह मन्त्रालयलाई पत्र पठाएको जानकारी दिएका छन्।
बुधबार महाकाली नदीमा आएको बाढीका कारण झोलुङ्गे पुलको बीचको भाग चुँडिएर नदीतर्फ झरेको थियो। पुलमा क्षति भएपछि त्यस पुलबाट मानिसको आवतजावत पूर्ण रूपमा रोकिएको छ।
प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार पुलको संरचना चुँडिएर नदीमा झरेको स्थानमा पानीको बहावसमेत तीव्र रहेको पाइएको छ। क्षतिको विस्तृत प्राविधिक अध्ययनपछि पुललाई कसरी पुन: सञ्चालनमा ल्याउने भन्ने विषयमा निर्णय हुने बताइएको छ।















