१६ आश्विन २०८३, शुक्रबार

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक



काठमाडौं। युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले आयोजना गरेको ‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डको पटायामा सम्पन्न भएको छ। कम्पनीका डिलर तथा व्यावसायिक साझेदारबीचको सम्बन्ध थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादनलाई सम्मान गर्ने तथा नयाँ उत्पादन सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरिएको समिट सेप्टेम्बर २१ देखि २५, २०२६ सम्म पटायास्थित द होलिडे रिसोर्टमा आयोजना गरिएको हो ।

समिटमा कम्पनीका विभिन्न क्षेत्रका डिलर तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। भिडोल र नेपाल गोल्ड लुब्रिकेन्टका डिलरहरूले कार्यक्रममा कम्पनी तथा डिलरबीचको सहकार्य, बजारका अवसर, व्यावसायिक सम्भावना तथा आगामी योजनाबारे अनुभव आदानप्रदान र छलफल गरेका थिए।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई अवार्ड समारोहमार्फत सम्मान गरिएको थियो। व्यवसाय विस्तार तथा कम्पनीको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने डिलर तथा टप परफर्मरहरूलाई उनीहरूको योगदानको कदर गर्दै पुरस्कार तथा सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।

समिटकै अवसरमा कम्पनीले बाइक तथा स्कुटरका लागि नयाँ इन्जिन आयल, स्कुटर गियर आयल र चेन ल्युब सार्वजनिक गरेको छ। यससँगै डिजेल एक्जस्ट फ्लुइडसमेत बजारमा ल्याइएको छ। नयाँ उत्पादनको विस्तारसँगै ग्राहकको बदलिँदो आवश्यकता तथा बजारको मागअनुसार आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्ने दिशामा कम्पनी अघि बढेको जनाएको छ।

व्यावसायिक छलफल तथा अन्तरक्रियाका अतिरिक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधि समेत आयोजना गरिएको थियो । यस्ता गतिविधिले कम्पनी र डिलरबीचको सम्बन्धलाई थप आत्मीय तथा मजबुत बनाउन सहयोग पुगेको कम्पनीको भनाइ छ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिका डेपुटी जनरल म्यानेजर दिनेश खनालले ‘युनाइटेड डिलर्स समिट २०८३’ सफल, फलदायी र ऊर्जावान बनेको बताए। उनका अनुसार, समिटले कम्पनी र डिलरबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै आगामी दिनमा व्यावसायिक विकास तथा नयाँ अवसरका लागि सकारात्मक ऊर्जा प्रदान गरेको छ।