१७ आश्विन २०८३, शनिबार

डेलका ल्यापटप बेच्ने म्याक्स इन्टरनेसनलकाे व्यापारमा फड्काे, आम्दानी ५२ प्रतिशतले बढ्दा पनि नाफामा दबाब



काठमाडौँ। नेपालमा झन्डै दुई दशकदेखि डेल ल्यापटप र सर्भरको अधिकृत विक्रेताका रूपमा कार्यरत म्याक्स इन्टरनेसनलको कारोबारमा उल्लेख्य सुधार देखिएको छ।

सूचना तथा सञ्चार प्रविधि (आइसीटी) क्षेत्रको व्यापारमा रहेको चर्को प्रतिस्पर्धाका बाबजुद बजारमा मागमा आएको पुनरुत्थान र उत्पादन पोर्टफोलियोको विस्तारसँगै अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०२६ मा कम्पनीको सञ्चालन आम्दानीमा करिब ५२ प्रतिशत बढेकाे छ।

कम्पनीको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०२४ मा २ अर्ब ७ करोड ४० लाख रुपैयाँ रहेकोमा २०२५ मा घटेर १ अर्ब ७५ करोड ४० लाख रुपैयाँमा सीमित भएको थियो। तर, आर्थिक वर्ष २०२६ मा भने फड्को मार्दै कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ६७ करोड १० लाख रुपैयाँ पुगेको छ।

व्यापारको दायरा बढे पनि ट्रेडिङ प्रकृतिको व्यवसाय र अत्यधिक प्रतिस्पर्धी बजारका कारण कम्पनीको नाफा दर भने साघुँरो नै रहेको छ। आर्थिक वर्ष २०२५ मा ऋणात्मक रहेको कम्पनीको सञ्चालन नाफा दर २०२६ मा सुधार भई ४.६४ प्रतिशत कायम भएको छ।

सञ्चालन नाफा दर न्यून हुनुका साथै लागत दबाब र मागमा आउने उतारचढावलाई सोस्ने क्षमता कम रहेकाले यसले खुद नाफा र नगद प्रवाहमा दबाब सिर्जना गर्ने जोखिम भने यथावत् छ।

व्यापार विस्तार भएसँगै कम्पनीको बैंक कर्जामाथिको निर्भरता बढेकाले वित्तीय दायित्व र ऋण कभरेज सूचकहरू दबाबमा देखिन्छन्। आर्थिक वर्ष २०२५ मा ऋणात्मक रहेको ब्याज कभरेज अनुपात २०२६ मा सुधार भई १.४९ गुणा पुगेको छ।

१० करोड रुपैयाँ मात्र चुक्ता पुँजी रहेको कम्पनीकाे कुल ऋण र खुद सम्पत्तिको अनुपात (गेयरिङ रेसियो) आर्थिक वर्ष २०२५ को २.५३ गुणाबाट बढेर २०२६ मा २.९४ गुणा पुगेको छ।

म्याक्स इन्टरनेसनलको व्यवसाय कार्यपुँजीमा बढी निर्भर देखिन्छ। ग्राहकहरूलाई दिइने लामो समयको उधारो सुविधाहरूका कारण कम्पनीको उठ्न बाँकी रकम संकलन गर्ने अवधि आर्थिक वर्ष २०२५ को १८० दिनबाट घटेर २०२६ मा १२३ दिनमा झरेको छ।

यस्तै, मौज्दात राख्ने अवधि २२ दिन र भुक्तानी अवधि २४ दिन रहँदा कम्पनीको कुल सञ्चालन चक्र १२२ दिन कायम भएको छ। कम्पनीको चालु अनुपात आर्थिक वर्ष २०२६ मा १.२७ गुणा रहेको छ।

प्रविधिमा हुने द्रुत परिवर्तन, पुराना हुने जोखिम र बैंकहरूको परिवर्तनशील ब्याजदरले व्यवसायमा जोखिम सिर्जना गरे तापनि कम्पनीको लामो व्यावसायिक अनुभव र बहुराष्ट्रिय ब्रान्डहरूसँगको आबद्धताले व्यापारलाई बल पुर्‍याएको छ।

कम्पनीको यिनै वित्तीय अवस्था, सञ्चालन जोखिम, उधारो संकलनको स्थिति र बजार प्रतिस्पर्धालगायतका पक्षहरूलाई मूल्यांकन गर्दै क्रेडिट रेटिङ एजेन्सी केयररेटिङ्स नेपालले म्याक्स इन्टरनेसनलको १ अर्ब १५ करोड ८६ लाख ७० हजार रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि रेटिङ पुन: पुष्टि गरेको छ।

जसअनुसार २ करोड ८६ लाख ७० हजार रुपैयाँको दीर्घकालीन बैंकिङ सुविधालाई ‘केयर-एनपी बिबि माइनस’ र १ अर्ब १३ करोड रुपैयाँको अल्पकालीन बैंकिङ सुविधालाई ‘केयर-एनपी ए फोर’ रेटिङ प्रदान गरिएको छ।

सन् २००६ मा स्थापना भएको म्याक्स इन्टरनेसनलमा शहिना हुसेनको एकल स्वामित्व र अकबर हुसेनको कार्यकारी नेतृत्व रहेको छ। यस फर्मले डेलका अलावा ओराकल, लेनोभो, माइक्रोसफ्ट, एचपी, सिस्को, आइबिएम जस्ता २५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका १ हजारभन्दा बढी प्रविधिजन्य सामग्री तथा आइटी पूर्वाधार सम्बन्धी सेवाहरू नेपालका सरकारी, निजी, बैंकिङ तथा कर्पोरेट क्षेत्रमा बिक्री वितरण गर्दै आएको छ।