१८ आश्विन २०८३, आइतबार

बिपीले ऐतिहासिक सम्बोधन गरेको खुलामञ्चबाट कांग्रेसले छान्दै छ नयाँ नेतृत्व



ऐतिहासिक खुलामञ्चमा बिपी कोइरालाको नीतिको साक्षी बन्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ, जहाँ नयाँ पुस्ताको नेतृत्व चयनको मुख्य प्रतिस्पर्धा हुनेछ।

काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टी संस्थापक बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको ऐतिहासिक स्थल खुलामञ्चमा यो महाधिवेशन हुन लागेको हो।

राजनीतिक र भावनात्मक हिसाबले विशेष महत्व बोकेको यस खुलामञ्चमा महाधिवेशनको भव्य उद्घाटन आज दिउँसो २ बजे हुनेछ। उद्घाटन सत्रलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने तय भएको छ। कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरूका साथै विभिन्न प्रमुख राजनीतिक दलका शीर्ष व्यक्तित्वहरूको समेत उपस्थिति र मन्तव्य रहनेछ।

पार्टी प्रवक्ता देवराज चालिसेले महाधिवेशन पूर्ण रूपमा ऐतिहासिक र रूपान्तरणकारी हुने बताए। उनका अनुसार महाधिवेशनको तल्लो तहको प्रक्रियाबाट नयाँ पुस्ताका करिब ४४ हजार युवा जिम्मेवारीमा आइसकेका छन्।

उनीहरूसहित निर्वाचित सात हजारभन्दा बढी प्रतिनिधिहरू यस महाधिवेशनमा भाग लिन काठमाडौं आइपुगेका छन्। यसअघि २०८२ पुस २८ देखि माघ ३ गतेसम्म पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न भएको थियो। सोही विशेष महाधिवेशनको निरन्तरता र परिमार्जित स्वरूपका रूपमा १५औँ महाधिवेशनलाई हेरिएको छ।

यस पटकको महाधिवेशनले पार्टी संरचनामा नयाँ आयाम थप्ने देखिएको छ। विधान अनुसार ३५ वर्षमुनिका युवा, लामो समय संघर्ष गरेका लोकतन्त्र सेनानी, विभिन्न श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीहरूले पहिलोपटक केन्द्रीय समितिमा प्रत्यक्ष प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ भन्ने मूल नाराका साथ सुरु भएको यस महाधिवेशनमा केवल नेतृत्व चयन मात्र नभई ती सङ्कल्पहरूलाई आगामी दिनमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा गम्भीर नीतिगत बहस हुनेछ। कांग्रेसले बिपी कोइरालाको वैचारिक मार्गलाई वर्तमानको सन्दर्भ र भविष्यको समृद्धिसँग जोडेर अगाडि बढ्ने दाबी गरेको छ।

महाधिवेशनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन आयोजकले विशेष तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबारदेखि नै प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भइसकेको छ। निर्वाचन समितिले तोकेको मापदण्ड अनुसार सहभागीले दर्ता शुल्कबापत तीन हजार पाँच सय रुपैयाँ बुझाएका छन्।

देशभरबाट आउने प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट छुट्टै संयोजक तोकिएको छ। आवाससम्बन्धी सम्पूर्ण जानकारी सहभागीहरूलाई विद्युतीय सन्देश सेवा र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमार्फत उपलब्ध गराइएको छ।

उद्घाटन कार्यक्रम सम्पन्न भएलगत्तै असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुने कार्यतालिका रहेको छ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आफ्ना छुट्टाछुट्टै प्रतिवेदनहरू पेस गर्नेछन्।

पेस भएका प्रतिवेदनहरूमाथि खुला छलफल गर्न भूगोलका आधारमा सहभागीहरूलाई तीनवटा छुट्टाछुट्टै हलमा विभाजन गरिनेछ। प्रत्येक हलमा आधुनिक विद्युतीय पाटीहरूको जडान गरिएको छ, जसबाट सहभागीले प्रतिवेदन सहज रूपमा हेर्न र सुन्न सक्नेछन्।

त्यस्तै, निर्वाचन प्रक्रियाका लागि असोज १९ गते दिउँसो २ बजेदेखि ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको समय निर्धारण गरिएको छ।

भीडभाडलाई नियन्त्रण गर्न र सहजताका लागि यातायात तथा पार्किङको पनि विशेष प्रबन्ध मिलाइएको छ। महाधिवेशनमा आउने निजी कार तथा मोटरसाइकलहरूका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङ तोकिएको छ भने ठूला बसहरूका लागि माइतीघरदेखि भद्रकालीसम्मको एक लेन खाली गराइएको छ।