जगदम्बा मोटर्सद्वारा बुटवलमा अपाचे रेसिङ क्वालिफायर्स सम्पन्न: १६० सीसी वर्गबाट तीन फाइनलिस्ट छनोट
काठमाडाैं । नेपालका लागि दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले तिलोत्तमास्थित गौराङ्ग ट्रयाक सेन्टरमा अपाचे रेसिङ क्वालिफायर्सको बुटवल चरण भव्य रूपमा सम्पन्न गरेको छ।
बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा सो क्षेत्रका उदीयमान चालक, खेलप्रेमी तथा नवप्रवेशी प्रतियोगीहरूले व्यावसायिक प्रशिक्षणका साथै प्रतिस्पर्धात्मक खेलमा दिनभर सहभागिता जनाएका थिए।
बुटवल क्षेत्रका चालकहरूमा देखिएको अभूतपूर्व उत्साहका कारण दर्ता सङ्ख्या सीमित गर्दै कुल ७६ जनामा रोक्नुपरेको आयोजकले जनाएको छ। यस सहभागिताले बुटवलमा मोटरस्पोर्ट्सप्रतिको गहिरो र बढ्दो रुचि तथा पहिचान हुन तयार प्रतिभाहरूको ठूलो समूह रहेको पुष्टि गरेको कम्पनीले जनाएकाे छ।
सहभागीहरूलाई नेपालका ख्यातिप्राप्त पूर्व विजेता सुजन थापा मगर र चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले सवारी सन्तुलन, मोडहरू काट्ने कला, गति नियन्त्रण तथा सुरक्षाका विविध प्रविधिबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरेका थिए। प्रारम्भिक प्रशिक्षणपछि आयोजित १६० क्षमतायुक्त सवारी वर्गको प्रतिस्पर्धात्मक दौडमा रोमाञ्चक भिडन्त भएको थियो।
कडा प्रतिस्पर्धाबीच ३४.०७ सेकेन्डमा दूरी पार गर्दै धीरज विश्वकर्मा प्रथम हुन सफल भए। त्यसैगरी ३४.६२ सेकेन्डका साथ अभिषेक पन्थी द्वितीय तथा ३४.८७ सेकेन्ड समय निकालेर अरिक श्रेष्ठ तृतीय बनेका छन्। यी तीनै जना विजेताहरूले अब काठमाडौँ, नेपालगञ्ज, इटहरी र पोखराका उत्कृष्ट प्रतिस्पर्धीहरूसँग राष्ट्रिय स्तरको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई कदरपत्र वितरण गर्नुका साथै विजेताहरूलाई मञ्चमा भव्य सम्मान गरिएको थियो। बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलबाट प्राप्त उत्साहजनक सहभागिताले यस क्षेत्रमा व्यावसायिक खेलप्रतिको तीव्र आकर्षणलाई स्पष्ट पारेको बताए। उनले पहिलो पटक ट्रयाकमा उत्रिएका नयाँ चालकहरूले पनि व्यावसायिक खेलाडीसरह प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै फाइनल चरणमा उत्कृष्ट प्रदर्शनको अपेक्षा राखेका छन्।
अन्तिम चरणको प्रतिस्पर्धा केवल राष्ट्रिय उपाधिमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने माध्यम बन्नेछ। फाइनल चरणमा विजयी हुने प्रतियोगीहरूले भारतको मद्रासस्थित अन्तर्राष्ट्रिय खेलमैदानमा नेपालको प्रतिनिधित्व गर्दै ५० भन्दा बढी देशका प्रतिस्पर्धीहरूसँग खेल्ने मौका पाउनेछन्। उक्त अन्तर्राष्ट्रिय यात्रा तथा आवासको सम्पूर्ण खर्च जगदम्बा मोटर्स र मुख्य उत्पादन कम्पनीले व्यहोर्नेछन्।
जगदम्बा मोटर्सले नेपालमा सुरक्षित तथा व्यावसायिक खेल संस्कृतिको विकास गर्न यो अभियान सञ्चालन गर्दै आएको छ। तीन चरणमा सञ्चालित यस कार्यक्रमअन्तर्गत खुला तालिम, क्षेत्रीय छनोट र राष्ट्रिय स्तरको अन्तिम प्रतिस्पर्धा समेटिएका छन्। यस अभियानले नेपाली खेलाडीहरूलाई विश्वस्तरीय खेलमैदानसम्म पुर्याउने स्पष्ट मार्ग तयार गर्नुका साथै नेपालमा तालिमप्राप्त र सुरक्षाप्रति सचेत चालकहरूको सङ्ख्या बढाउन महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।















