अर्थतन्त्रको अवस्थाबारे गगनको प्रश्न : ‘बैंकले ४% ब्याजमै ऋण दिँदा पनि किन कोही लिँदैनन्?’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको वर्तमान आर्थिक अवस्था, बैंकिङ क्षेत्रको शिथिलता र उत्पादन क्षेत्रको संकटप्रति गम्भीर प्रश्न उठाएका छन्।
आइतबार पार्टीको महाधिवेशन समारोहमा अर्थतन्त्र र उद्योग व्यवसायको अवस्थाबारे बोल्दै उनले रेमिट्यान्सले बैंकहरूमा पैसा थुप्रिए पनि लगानीको वातावरण बन्न नसक्दा अर्थतन्त्र संकटमा परेको बताएका हुन्।
बैंकमा पैसा फालाफाल तर ऋण लिन कोही जाँदैनन्
देशका ग्रामीण क्षेत्रहरूको आर्थिक यथार्थतामाथि प्रकाश पार्दै नेता थापाले पछिल्लो समय बैंक र उद्यमीबीचको सम्बन्ध अनौठो मोडमा पुगेको बताए। गाउँका घरहरू रित्तिँदै गएको र युवाहरू वैदेशिक रोजगारीमा धकेलिनुपरेको यथार्थ राख्दै उनले भने, “अहिले नेपालका बैंकहरू, राम्रै चलेका उद्यमीहरूको घर घरमा गएर कृपया लोन लिदिनुस्, म तपाईंलाई चार प्रतिशत ब्याजमा लोन दिन्छुु भन्दै पुगिरहेका छन्। किनकि केटाकेटी बाहिर काम गर्न गएका छन्, रेमिट्यान्सबाट पैसा आएको छ, बैंकमा थुप्रिएको छ तर लोन लिन कोही जाँदैन।”
यस्तो अवस्था किन आयो ? भन्दै थापाले अर्थतन्त्रको यो अवस्थाप्रति गम्भीर भएर सोच्नुपर्ने र अर्थतन्त्रलाई उकास्न जोड दिनुपर्ने बताएका हुन्।
पछिल्ला दशकहरूमा गाउँ-गाउँसम्म सडक र पूर्वाधार पुगे पनि त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न नसकेको उनको गुनासो छ। गाउँका बाटोहरूले उत्पादन बढाउनभन्दा पनि काठमाडौँ हुँदै विदेश उड्ने विमानस्थलसम्म पुग्न मात्रै सहज बनाएको उनले बताए।
‘गाउँको बाटोले जम्मा एउटा कुरा बनाइदिएको छ। काठमाडौँ आउन सजिलो बनाएको छ। काठमाडौँ किन आउने भन्दा कतार जानको लागि एयरपोर्ट जान सजिलो भएको छ,’ थापाले टिप्पणी गरे।
विशाल छिमेकी अर्थतन्त्रकाबीच नेपाली उद्योगको दयनीय अवस्था
छिमेकी राष्ट्रहरू चीन र भारतजस्ता संसारकै ठूला बजार नजिकै हुँदा पनि नेपालले त्यसको लाभ उठाउन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे। विगतका राजनीतिक परिवर्तन र ३५ वर्षको कालखण्डलाई फर्केर हेर्दै उनले प्रश्न गरे, “किन हामीले नेपालभित्र उद्योग धन्दा, कलकारखाना चलाउन सकेनौँ ? किन हामीले उत्पादन गर्न सकेनौँ ? यत्रो विश्वको छेउछाउमा चाइना र इन्डिया जत्रो बजार हुँदै गर्दाखेरि पनि किन चल्न सकेन हाम्रो धन्दा ?”
देशमा राजनीतिक स्थिरता र बलियो सरकार भए पनि जनताको जीवनस्तर सुधार्ने वास्तविक आर्थिक परिणाम दिनुपर्ने बेला आएको उनको जोड थियो। अर्थतन्त्रलाई परनिर्भरताबाट जोगाउन र बैंकको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण सिर्जना गर्न अब नीतिगत रूपमै गम्भीर समीक्षा हुनुपर्ने उनले औँल्याए।















