१९ आश्विन २०८३, सोमबार

राष्ट्र बैंकद्धारा फेरि ग्लोबल टेन्डर आह्वान, २ रुपैयाँका ३० करोड सिक्का छापिने



काठमाडौँ। नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान नयाँ सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सिक्काको डिजाइनदेखि टकमरी (मिन्टिङ) र आपूर्तिसम्मको कामका लागि केन्द्रीय बैंकले विश्वस्तरका योग्य सेक्युरिटी मिन्टिङ कम्पनीबाट प्रस्ताव माग गरेको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार सार्वजनिक गरेको सूचनामार्फत पूर्वयोग्यता हासिल गरेका अन्तर्राष्ट्रिय कम्पनीलाई शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरिएको जनाएको छ।

यसअघि आइतबार मात्रै राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का उत्पादन तथा आपूर्तिका लागि पनि ग्लोबल टेन्डर जारी गरेको थियो। यससँगै दुई दिनको अवधिमा केन्द्रीय बैंकले १ र २ रुपैयाँ दरका गरी कुल ७० करोड थान सिक्का उत्पादन गर्ने प्रक्रिया अघि बढाएको छ।

बजारमा साना दरका खुद्रा मुद्रा तथा सिक्काको अभाव हुन नदिन र मौज्दात सन्तुलित राख्ने उद्देश्यले राष्ट्र बैंकले ठूलो परिमाणमा नयाँ सिक्का टकमरी गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ।

राष्ट्र बैंकका अनुसार २ रुपैयाँका सिक्काको खरिद प्रक्रिया ‘एकल चरण, दुई खाम’ प्रणालीबाट अघि बढाइनेछ। सहभागी कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै शिलबन्दी खाममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।