विपद्पछिको पुनःनिर्माणका लागि सरकारद्धारा साढे ५ खर्ब बढीको बजेट सिफारिस
काठमाडौँ। सरकारले विपद्पछिको पुन:निर्माणका लागि साढे ५ खर्ब बढीको बजेट सिफारिस गरेका छ। भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्बभन्दा बढी बजेट आवश्यक पर्ने निष्कर्ष निकालिएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत यी योजनाहरूको स्रोत अर्थ मन्त्रालयमार्फत व्यवस्थापन गरिनेछ भने लागत अनुमान नखुलेका आयोजनाहरूको विवरण आएपछि थप बजेटका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गर्न निर्देशन दिइएको छ।
बैठकमा प्रधानमन्त्री शाहले सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा पुनःनिर्माण अघि बढाइने बताएका छन् भने उक्त कार्यमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पूर्ण साथ रहने प्रतिबद्धता जनाएका छन्।















