१३ मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया आजदेखि, ७ वटा उजुरी दर्ता
काठमाडौँ। प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले विभिन्न १३ मुलुकका लागि सरकारले सिफारिस गरेका राजदूतहरूको सुनुवाइ प्रक्रिया आजबाट अघि बढाउँदैछ। बिहान ११:१५ बजे तय भएको समितिको बैठकमा प्रस्तावित राजदूतहरूमाथि प्राप्त उजुरी तथा उनीहरूले समितिसमक्ष बुझाएका कार्ययोजनाहरू सदस्यहरूलाई उपलब्ध गराइनेछ।
१३ जना प्रस्तावित राजदूतलाई लिएर कुल सातवटा उजुरी दर्ता भएका छन्। त्यसमध्ये दुईवटा उजुरी सबै उम्मेदवारसँग सम्बन्धित छन् भने बाँकी पाँचवटा उजुरी छुट्टाछुट्टै व्यक्तिलाई लक्षित गरेर परेको बताइएको छ।
सरकारले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापालाई राजदूतका रूपमा सिफारिस गरेको छ। बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबराको नाम प्रस्ताव गरिएको छ।
त्यसैगरी जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि पनि सरकारले राजदूतका उम्मेदवार सिफारिस गरेको छ। अब संसदीय सुनुवाइ समितिले उनीहरूको योग्यता, कार्ययोजना र उजुरीका विषयमा अध्ययन गरी सुनुवाइ अघि बढाउनेछ।















