३ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँबराबरको कुल ३० लाख ऋणपत्र जारी गर्न लागेको हो।
बैंकले असोज २९ गतेबाट निष्कासन गर्न लागेको ‘आरबीबी डिबेन्चर-२०८९’ नामक ऋणपत्र ५ वर्ष अवधिको रहेको छ। यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ जुन अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ।
कुल ३० लाख युनिट ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख युनिट सर्वसाधारणका लागि (सामूहिक लगानी कोषका लागि छुट्टाइएको समेत) निष्कासन गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।
सर्वसाधारण लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ युनिटदेखि अधिकतम १ लाख युनिटसम्म आवेदन दिन सक्नेछन्।
यस ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।















