२० आश्विन २०८३, मंगलबार

दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ देखि खुल्ने



काठमाडौं। दसैँ, तिहार र छठलाई ध्यानमा राख्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि सुरु हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको उच्चस्तरीय बैठकले चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुलाई सहज बनाउन अग्रिम टिकट बिक्री खुला गर्ने निर्णय गरेको हो।

बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिहरू सहभागी थिए।

१० लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने अनुमान

अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दीपक केसीका अनुसार यसपटक दसैँको अवधिमा मात्रै १० लाखभन्दा बढी मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।

यात्रुको सुरक्षा र लामो दूरीको यात्रालाई व्यवस्थित बनाउन बैठकले लामो दूरीका सवारीसाधनमा कम्तीमा दुई जना चालक अनिवार्य राख्ने निर्णय गरेको छ। यस्तै, टिकट काउन्टरमा कार्यरत कर्मचारीले परिचयपत्रसहित तोकिएको पोसाक लगाउनुपर्नेछ। टिकट बिक्री गर्दा यात्रुको नाम र सम्पर्क नम्बरसमेत अभिलेखमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

यात्रु ठग्नेलाई कडा कारबाही गरिने

चाडपर्वको समयमा तोकिएको दरभन्दा बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने वा अन्य प्रकारका अनियमितता गर्ने व्यक्ति तथा व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ।

यात्रु सुरक्षा तथा सडकमा हुने दुर्घटना र अवरोधबारे तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।

यसैगरी, यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचारका सामग्री, आगो नियन्त्रण गर्ने उपकरण र पर्याप्त पिउने पानी अनिवार्य राख्नुपर्ने निर्णय भएको छ। बसपार्क र टिकट काउन्टरमा चाडपर्वका बेला बढ्ने यात्रुको भीडलाई व्यवस्थित गर्न सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गरिने भएको छ।