ब्रह्माण्डका रहस्य पर्गेल्ने वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई सन् २०२६ को भौतिकशास्त्रको नोबेल
ब्रह्माण्डका अति सूक्ष्म र रहस्यमय ‘न्युट्रिनो’ कणहरू पत्ता लगाउने क्रान्तिकारी अनुसन्धानका लागि बेल्जियन–अमेरिकी भौतिकशास्त्री फ्रान्सिस हाल्जेनलाई सन् २०२६ को भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको छ।
काठमाडाैँ । ब्रह्माण्डका अति सूक्ष्म कण ‘न्युट्रिनो’ पत्ता लगाउन दक्षिण ध्रुवको बरफलाई प्रयोग गर्ने क्रान्तिकारी वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई सन् २०२६ को भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको छ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले ब्रह्माण्डका रहस्य पर्गेल्न पुर्याएको यो योगदानको उच्च कदर गर्दै उनलाई यस प्रतिष्ठित सम्मान दिने निर्णय गरेको हो।
बेल्जियन–अमेरिकी भौतिकशास्त्री फ्रान्सिस हाल्जेनले दशकौँको मिहिनेतपछि दक्षिण ध्रुवको बरफलाई प्रयोग गरेर उच्च ऊर्जाका न्युट्रिनो कणहरू पत्ता लगाउने प्रयाेगशाला निर्माण गरेका थिए।
पृथ्वी र मानव शरीरलाई कुनै डोब नछोडी सजिलै छिचोल्ने भएका कारण न्युट्रिनोलाई ‘भूत कण’ समेत भनिन्छ। यी कणहरूले ब्रह्माण्डका अति दुर्लभ र जटिल क्रियाकलापहरूको सुक्ष्म सूचना बोकेर हिँड्ने वैज्ञानिकहरूको ठम्याइ छ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजकी इभा ओल्सनले पत्रकार सम्मेलनमा बताइन्- ‘यी दूतहरूले ब्रह्माण्डबाट जानकारी बोकेर ल्याएका हुन्छन्।’ उनका अनुसार यिनै कणहरूले टाढाका आकाशगंगाका ढोका खोलेका छन् र विस्फोट भइरहेका ताराहरूको कथा सुनाएका छन्।
अन्टार्कटिकामा स्थापित आइसक्युब प्रयाेगशालाले संकलन गरेका न्युट्रिनो अन्तरक्रियाहरूले अनुसन्धानकर्ताहरूलाई उच्च ऊर्जाका न्युट्रिनो कसरी उत्पन्न हुन्छन् भन्ने ज्ञान प्रदान गरेको छ र यसबाट भविष्यमा थुप्रै अज्ञात ब्रह्माण्डीय घटनाहरू बाहिर आउने अपेक्षा गरिएको छ।
भौतिकशास्त्रतर्फको नोबेल समितिका अध्यक्ष मार्क पियर्सले एक विज्ञप्ति जारी गर्दै फ्रान्सिस हाल्जेनले अनुसन्धानकर्ता र इन्जिनियरहरूको एक अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गरेर मानवतालाई एक अद्भुत यन्त्र उपलब्ध गराएको बताए। उनका अनुसार हाल्जेनको दृढता र वैज्ञानिक दूरदर्शिताले खगोल विज्ञानको एक नयाँ आयामको मार्ग प्रशस्त गरेको छ।
सन् २०१४ मा अमेरिकाबाट प्रकाशित हुने ‘स्मिसोनियन’ पत्रिकाले उनलाई ‘न्युट्रिनो म्यान’ उपनाम दिएको थियो भने उनको जीवनमा आधारित रहेर एउटा कमिक समेत प्रकाशित गरिएको थियो । जसमा एक भौतिकशास्त्रीको ब्रह्माण्डप्रतिको तिर्सना अन्टार्कटिकामा कसरी साकार भयो भन्ने चित्रण गरिएको थियो।
नोबेल भौतिकशास्त्र पुरस्कार रोयल स्विडिस एकेडेमी अफ साइन्सेजद्वारा छनोट गरिन्छ र विजेताले १ करोड २० लाख स्विडिस क्राउन प्राप्त गर्छन्। यदि विजेताहरू धेरै भएमा यो रकम उनीहरूबीच दामासाहीले बाँडिन्छ।
डाइनामोइटका आविष्कारक तथा उद्यमी अल्फ्रेड नोबेलको इच्छाअनुसार स्थापित यी पुरस्कारहरू सन् १९०१ देखि नियमित रूपमा प्रदान गरिंदै आएका छन्। यसअघि चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा भइसकेको छ भने बुधबार रसायनशास्त्रतर्फको विजेता सार्वजनिक गरिनेछ।
भौतिकशास्त्रको यो विधा नोबेलको वसीयतमा निकै महत्त्वका साथ राखिएको थियो र यो इतिहासमै विज्ञानको क्षेत्रको सर्वोच्च सम्मान मानिन्छ। अल्बर्ट आइन्स्टाइन, मेरी र पिएर क्युरी, म्याक्स प्लेङ्क र नील्स बोरजस्ता हस्तीहरू यसका पुराना विजेता हुन्, जसका खोजहरूले आधुनिक भौतिकशास्त्रको बलियो जग बसालेका थिए।
गत वर्ष क्वान्टम भौतिकशास्त्रका सिद्धान्तहरूमा आधारित प्रयोगात्मक कार्यका लागि जोन क्लार्क, मिसेल डेभोरेट र जोन मार्टिनिसलाई यो पुरस्कार प्रदान गरिएको थियो।
प्रत्येक वर्ष डिसेम्बर १० तारिखमा अर्थात् अल्फ्रेड नोबेलको स्मृति दिवसका दिन स्टकहोममा आयोजित एक विशेष समारोहका बीच स्विडिस राजा कार्ल १६औँ गुस्ताफले विजेताहरूलाई नोबेल पदक प्रदान गर्छन्। त्यसपछि स्टकहोम सिटी हलमा भव्य भोजको आयोजना गरिन्छ भने शान्ति तर्फको पुरस्कार भने नर्वेको ओस्लोमा छुट्टै प्रदान गरिन्छ।















