प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
पर्सा जिल्ला अदालतका न्यायाधीश देवीकुमार चौधरीको इजलासले शर्मालाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
शर्माविरुद्ध ८९ लाख रुपैयाँ ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पर्सा जिल्ला अदालतमा असोजको पहिलो साता मुद्दा दायर भएको थियो।
वीरगञ्ज महानगरपालिकामा रहेको अञ्जली इन्टरनेसनलकी प्रोप्राइटर निर्मला देवीले शर्माविरुद्ध मुद्दा दायर गरेकी हुन्। निर्मला देवीले शर्मा लक्ष्मी सनराइज बैंकको तत्कालीन प्रमुख कार्यकारी अधिकृत रहेका बेला बैंकबाट ऋण लिएकी थिइन्। तर, प्रतिबद्धताअनुसार ऋण उपलब्ध नगराइएको भन्दै उनले कानुनी प्रक्रिया अघि बढाएकी हुन्।
अदालतमा बयान दिने क्रममा शर्माले आफूलाई यस विषयमा कुनै जानकारी नभएको दाबी गरेका छन्। उनले जाहेरीकर्तालाई समेत नचिनेको र ऋण लिने–दिने प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।















