२० आश्विन २०८३, मंगलबार

यस वर्ष दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा



काठमाडौं। यस वर्षको बडादसैँमा विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीका दिन टीका लगाउने उत्तम समय १० बजेर २६ मिनेटमा रहेको जनाएको हो।

टीका ग्रहण गर्ने व्यक्तिले पश्चिम दिशातर्फ फर्किनुपर्ने समितिको भनाइ छ। विजया दशमी अर्थात् कात्तिक ४ गते बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभसाइत तोकिएको छ।

यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्र तथा घटस्थापना सुरु हुनेछ। घटस्थापनाका लागि बिहान ११ बजेर ४७ मिनेटको समय शुभ मानिएको छ। सो दिन चित्रा नक्षत्र र वैधृति योग पनि रहेकाले शास्त्रीय विधिअनुसार पहिले ती योगको शान्ति गरी त्यसपछि घटस्थापना गर्नु उपयुक्त हुने समितिले जनाएको छ।

असोज २६ गते सोमबार बिहान १० बजेर ७ मिनेटमा झण्डा परिवर्तन गर्ने साइत रहेको छ। झण्डा पश्चिम दिशातर्फ फर्काएर परिवर्तन गर्नुपर्ने जनाइएको छ। असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ।

त्यसैगरी, असोज ३१ गते शनिबार फूलपाती मनाइनेछ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राका लागि बिहान ७ बजेर ३७ मिनेट तथा स्थिरासनका लागि बिहान १० बजेर ३९ मिनेटको शुभसाइत तोकिएको छ।

कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ। कार्तिक ४ गते बुधबार विजया दशमी मनाइँदैछ। सोही दिन देवी विसर्जन, टीका ग्रहण, श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रालगायतका धार्मिक विधि हुनेछन्।

सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा तथा स्थिरासनको साइत दिवा ११ बजेर ५२ मिनेटमा रहेको छ। दशैंअन्तर्गतका मुख्य धार्मिक कार्यक्रमपछि कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिनेछ।